बिचार

द्वन्द्वात्मक भौतिकवाद : दर्शनशास्त्रको विकसित रूप

मार्क्सवाद समष्टिगत रूपमा एउटा पूर्णंक विज्ञान हो। जसले विश्वव्रम्हाण्डीय ‘दृग्विषय’ अर्थात् पदार्थ तथा परिघटना (Object and Phenomenon) हरूलाई वस्तुगत, बोधगम्य, निरन्तर गतिशील र पारस्परिक निषेधक (Mutual negation) गुणधर्म युक्त सहसम्बन्धहरूमा आबद्ध र व्यवस्थित प्रणालीको रूपमा हेर्दछ र व्यौम तथा कालमा (In Time and Space )मा मात्र तिनको अस्तित्व सम्भव छ भन्ने कुरा मान्दछ। ‘यस विश्वब्रह्माण्डमा गतिमान पदार्थ (Metter in Motion) बाहेक अरू कुनै कुराको अस्तित्व छैन र गतिमान पदार्थ समय र व्यौम (In Time and Space )मा स्थित छ। मार्क्स-एंगेल्स- संकलित रचना मस्को १९६२। तत्व/पदार्थ (Matter) शब्द आफैमा समष्टि संज्ञक अभिव्यक्ति हो, जसको आफैमा कुनै विशिष्ट संज्ञा, रूप, आयाम, परिमेय छैन। विश्व ब्रह्माण्डमा जे अस्तित्वमा छ र आ-आफ्ना विशिष्ट (व्यष्टि) रूपहरूमा अभिव्यक्त छ। ती सबको आदि कारण ‘आदि पदार्थ (वीज तत्त्व) (Primeval Matter) मा निहित छ र त्यसैबाट निःश्रृत हुन्छन्।

डाइलेक्टिक्स् (द्वन्द्वात्मकता) शब्द प्राचीन ग्रीक भाषाको शब्द हो, जसको अर्थ संवाद गर्नु वा तर्क गर्नु हुन्छ (Conduct a conversation, an argument)। तर विभिन्न दार्शनिकहरूले यस (Dilect) शब्दलाई विभिन्न रूपमा परिभाषित गरेका छन्। जस्तै सुकरात यसलाई विरोधी प्रवृत्तिका प्रतिपक्षीहरूको एकत्वबीचका अन्तरद्वन्द्वको सत्य पत्ता लगाउने कलाको रूपमा (An art of getting at the truth through discovery of contradiction in the opponent’s proposition) लिन्छन् भने प्लेटोका लागि यो संवाद सञ्चालन गर्न, प्रश्नहरू उठाउन र तिनको उत्तर पाउन संवाद सञ्चालन गर्ने कला हो (Art of conducting debates, of formulating questions and obtaining answers to them)। कान्टका लागि यो यथार्थमा आधारित नभई दृष्यमा आधारित तर्क हो, जसले सत्यसम्म पुर्‍याउँदैन। हेगेलको दृष्ट्रिकोणमा यो भावनाहरूको स्वचालित गति हो। मार्क्सका लागि द्वन्द्ववाद वस्तुगत यथार्थलाई बुझ्ने सिद्धान्त र पद्धति हो। बस्तु, समाज र प्रकृतिका विकासका आधारभूत नियमहरूलाई सामान्यीकृत रूपमा (In generalized form) बुझ्ने विज्ञान हो।

दर्शनको आफ्नै इतिहास र ऐतिहासिक गतिविज्ञान छ। सायद, मार्क्स प्राचीन भारतीय तथा वैदिक दर्शको षड्दर्शन पद्धति र विभिन्न शाखा प्रशाखा अन्तर्गत प्रतिपादी चिन्तन प्रणाली र त्यसमा वर्णित दर्शनको भौतिकवादी तथा द्वन्द्ववादी पक्षसँग त्यति परिचित थिएनन्। त्यसकारण मार्क्सको द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी चिन्तन प्रणालीका विकासको मुख्य स्रोत पश्चिमा भौतिकवादी दर्शन र द्वन्द्व चिन्तन रहेको देखिन्छ। यसकारण यसलाई पश्चिमा ज्ञानको विकसित र संश्लेशित रूप हो भन्नु अनुपयुक्त हुँदैन। यस सन्दर्भमा हेर्ने हो भने द्वन्द्वात्मक भौतिकवाद पश्चिमा द्वन्दावादी र भौतिकवादी दर्शनको विकास हेराक्लीटस् जस्ता प्राचीन चिन्तकहरूको अति सामान्य र स्वः स्फूर्त द्वन्दवाददेखि हुँदै हेगेलको द्वन्द्व, रिभोल्युशनरी डेमोर्क्याटहरूको द्वन्द्व, मार्क्सको वैज्ञानिक द्वन्द्वात्मक भौतिकवादी चरणसम्म आइपुग्दा विभिन्न ऐतिहासिक चरण र अवस्था पार गर्दै अगाडि बडेको छ। यस सम्पूर्ण विकास प्रक्रियामा गतिवाद र भौतिकवादी चिन्तन समानान्तर रुपामा अगाडि आएको देखिन्छ। तर, यिनलाई परस्पर संश्लेषसित गरी द्वन्द्वात्मक भौतिकवादको रूपमा प्रस्तुत गर्ने काम मार्क्सले मात्र गरे। यो नै मार्क्सको विशिष्टता हो र यो वैज्ञानिक आधारमा दार्शनिक चिन्तनका परिपाटीको उच्चतम उपलब्धि हो।

मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादी विश्लेषण पद्धतिमा तत्व/पदार्थ तथा परिघटनाहरू (Phenomenon)को द्वन्द्वात्मकता र भौतिकता जीवन्त रूपले जोडिएका पक्ष हुन् र यो उनका पूर्ववर्ती हेगलको भन्दा भिन्नछ। हेगेलको कल्पनावादी द्वन्द्व र आफ्नो द्वन्द्वात्मक भौतिकवादबीचको भिन्नताबारे मार्क्सले लेखेका छन्- ‘मेरो द्वन्द्व पद्धति हेगलको भन्दा भिन्नमात्र होइन। बल्की त्यसको विपरीत छ।’ हेगलका लागि मानव मस्तिष्कको चैतन्य प्रक्रिया, जसलाई उनले ‘आईडिया’ भन्छन्, माग अनुसारको सामान निर्माण गर्ने एउटा शिल्पकार (Demiurges) जस्तै वस्तुजगतको निर्माता हो, जसले हामीले चाहेअनुसार विश्वको निर्माण गर्दछ। अर्थात् उनका अनुसार बाह्य जगत कल्पनाको उत्पत्ति हो। तर मेरो लागि ‘आडिया’ (यानि मानव चेतना) मानिस मस्तिष्कद्वारा भौतिक जगतलाई प्रतिबिम्बित गरेको यथार्थबाट प्राप्त ज्ञान बाहेक केही होइन। हेगेलको द्वन्द्व मानवको टाउकोभित्र अवस्थित छ। यसलाई सोझो गरी खुट्टामा उभ्याउनु पर्दछ’। हेगलले द्वन्दवादलाई सही र सटिक रूपमा व्याख्या त गरे, तर यसलाई वस्तुगत विश्वको अन्तर्निहित चरित्र नभई मानव कल्पनाको द्वन्द्वात्मकताको रूपमा हेरे। मार्क्स-एंगेल्स ‘औन डाइलेक्टिक्स्’ -मस्को १९६७।

द्वन्द्वात्मक भौतिकवादअनुसार सम्पूर्ण प्रकृति अर्थात् सृष्टि आफैमा पारस्परिक एकत्व र द्वन्द्वमा आबद्ध समष्टिगत सम्पूर्णता हो, जसमा परस्पर सम्बद्ध, परस्पर निर्भर र एक अर्काको कारण र कारकका प्रवृत्तिहरू समाहित छन्। प्रकृति निरन्तर गतिमान, निरन्तर परिवर्तनशील, नवीनता र विकासको अवस्थामा छ। विकास भनेको निरन्तरता र अविच्छिन्न विच्छेदन (Continual discontinuity)को एकत्व र दृश्य तथा अभिव्यक्त रूपमा नगण्य (Insignificant) जस्ता लाग्ने परिमाणात्मक परिवर्तन हुँदै गुणात्मक परिवर्तनमा संक्रमणको प्रक्रिया हो। प्रकृतिका सम्पूर्ण परिघटना र विषयवस्तु, बिना कुनै अपवाद, अन्तरस्थ प्रतिद्वन्द्वात्मक प्रवृत्तिका छन्। सम्पूर्ण ‘अस्ति’ (जे अस्तिवान छ त्यो सब) शाश्वत रूपमा आफैभित्र स्थित परस्पर विपरीत गुणधर्मी र पारस्परिक निषेधात्मक प्रवृत्तिका दुई पक्ष (Negative and Positive aspect) सहित अस्तित्वमा छन् र यिनकाबीचको शाश्वत द्वन्द्वका कारण उत्पन्न निरन्तर गतिको क्रममा केही कुरा समाप्त हुँदै जान्छन् भने केही जन्मिँदै जान्छन् र नयाँ रूपमा विकसित हुन्छन्। यो सम्पूर्ण प्रकृतिको नैसर्गिक र शाश्वत प्रवृत्ति हो र प्रकृति सत्ताको सार हो। हाम्रो आफ्नो दैनिकी र सामाजिक, राजनैतिक, वैचारिक गतिविधिहरूलाई सुव्यवस्थित र सही किसिमले सम्पन्न गर्न आ-आफ्नो सामाजिक अवस्थामा क्रियाशील र निरन्तर गतिमान सामाजिक प्रवृत्तिहरूको ज्ञान हुनु अत्यावश्यक कुरा हो।

विश्लेषणको यो मार्क्सवादी पद्धति प्राकृतिक र सामाजिक घटनाक्रम, राजनैतिक प्रक्रिया, यावत विषयवस्तु र परिघटनाहरूको विश्लेषण गर्न र त्यसबारे सही ज्ञान प्राप्त गर्न एक मात्र वैज्ञानिक र कारगर पद्धति हो। राजनैतिक र सामाजिक कार्यकर्ताका लागि तिनको पहिचान गर्न आवश्यक माध्यम हो। छोटकरीमा भन्नुपर्दा, मार्क्सवादी विश्लेषण पद्धतिअनुसार प्रत्येक पदार्थ, परिघटना, मानव चेतना, सामाजिक मनोविज्ञान तथा दैनिक रूपमा परिघटित भइरहने राजनैतिक-सामाजिक परिघटना, तिनको चरित्र, रूप र सारलाई बुझ्नु तिनलाई- क. नितान्त ऐतिहासिक पृष्ठभूमिको सन्दर्भमा हेर्नु पर्दछ। ख. प्रत्येक चीजलाई एकांगी वा स्वतन्त्र, पृथक वा असम्बद्ध रूपमा होइन पारस्परिक सम्बन्धमा हेर्नु पर्दछ। ग. नितान्त ठोस ऐतिहासिक अनुभव र त्यसका प्रकटीकरणको पृष्ठभूमिमा हेर्नु पर्दछ। लेनिनका शब्दमा भन्ने हो भने, यस्तो विश्लेषण पद्धति नै मार्क्सवादी विश्लेषण पद्धतिको आत्मा हो।

अपूर्णता नै विज्ञानका अग्रविकासको कारक हो। कुनै पनि विज्ञान समय सापेक्ष पूर्ण देखिए पनि सधैँ अपूर्ण नै रहन्छ। आजको अनुसन्धान र निचोड अन्तिम सत्य हुँदैन। पूर्णता र अपूर्णताबीचको यही अन्तर्द्वन्द्व नै उसका अग्रविकासको बाहक कारक हो। मार्क्सले प्रतिपादित गरेको दर्शनको द्वन्द्वात्मक भौतिकवादी प्रणालीको ऐतिहासिक भौतिकवादी पक्ष आमरूपमा प्राकृतिक गतिका नियमहरूबाटै निर्देशित छ। तर, यसका साथै यसका विशिष्ट र आधारभूत सापेक्षिक अवधारणा- समाज, चेतना, सामाजिक वर्ग, वर्गसंधर्ष, आर्थिक आधार, सामाजिक संरचना, सामाजिक मनोविज्ञान, संस्कार, संस्कृति, आदिका विविध आयाम आफ्नै विशिष्ट नियम अन्तरगत परिवर्तन हुँदै जान्छन्। यसको समष्टिगत अभिव्यक्ति नै विशिष्ट सामाजिक गति हो। त्यसकारण मार्क्सवादका ऐतिहासिक भौतिकवादी अवधारणाहरूको अध्ययनलाई तिनको सार्वभौम नियमहरूको सारका सापेक्ष रूपका परिवर्तनहरूलाई समय र अवस्था सापेक्ष परिवर्तित हुँदै जाने गतिशील बस्तुगत अनिवार्यताको रूपमा लिनु पर्दछ। यस कारण यो सामाजिक दर्शन मात्र नभएर समष्टिगत रूपमा सामाजिक विज्ञान हो, जसले समाजका मूल प्रवृत्ति तथा स्वभावको व्याख्या गर्दछ। द्वन्द्वात्मक भौतिकवादका मूल प्रवृत्ति, स्वभाव र अन्तरसम्बन्धहरूको सार्वभौमिकता र नैसर्गिकताको सत्यापन प्राकृतिक भौतिककीको फाँटमा प्रकृति विज्ञानमा भइरहेका नयाँ-नयाँ अनुसन्धानले गर्दैछ भने सामाजिक जीवनमा स्वयं समाज परिवर्तनको चरित्र, गति र दिशाले गर्दैछ।

व्यौम/आकाश (Space) र काल (Time) पदार्थ/तत्व (Matter)सँग अन्तर सम्बन्ध र पारस्परिक निर्भरतामा छन् भन्ने मार्क्सको मान्यता आज आधुनिक विज्ञान क्षेत्रले पनि स्वीकारेको छ। यो स्वीकारोक्ति मार्क्सका- व्यौम र काल पनि पदार्थ जस्तै सम्पूर्ण ‘अस्ति’का नैसर्गिक गतिका महान् नियम अर्थात् द्वन्द्व-गति-परिवर्तनका आधारभूत नियमको पालना गर्दछन् भन्ने मान्यताको वैज्ञानिक सत्यापन हो। विज्ञानको विकास तथा माक्रोसंसार र अन्तरिक्षमा यसको प्रवेश तथा अपौरुषेयबाट पौरुषेको निर्माणसँगै द्वन्द्वात्मक भौतिकवादका सार्वत्रिक र सर्वकालिक नियमहरूको परिपुष्टि भइरहेको छ। यसका साथै मार्क्सको ज्ञानको सिद्धान्त (Theory of knowledge), अर्थात्, ‘कृया-प्रतिक्रिया-ज्ञान’को पनि व्यवहारिक जीवनले नै परिपुष्टि गर्दैछ।

द्वन्द्वात्मक विकासका सार्वभौम नियम

द्वन्द्वात्मक भौतिकवादी दर्शनका मूल अवधारणा (Categories) सार्वभौम, सर्वकालिक, नैसर्गिक चरित्रका हुन् र आधारभूत रूपमा आ-आफ्ना विशिष्टतासहित मानव समाजसमेत प्रकृतिका विशिष्ट क्षेत्रहरूमा आ-आफ्नै विशिष्टतासहित विशिष्ट रूपमा सर्वत्र लागू छन्। तर, सामाजिक जीवनमा राजनैतिक पक्षलाई हेर्ने हो भने यस दर्शनबाट निर्दिष्ट राजनैतिक परिवर्तनको चरित्र सर्वत्र एकनास हुँदैन र यो प्रत्येक समाजको ऐतिहासिक विशिष्टता, समय र स्थानीयता सापेक्ष सापेक्षिक विविधता युक्त हुन्छ। मार्क्सवादीहरूका सामाजिक राजनैतिक क्रियाकलापका लागि यसको ज्ञान हुनु महत्त्वपूर्ण पक्ष हो।

मार्क्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धति, समग्रतामा, विविधतायुक्त पारस्परिक अन्तर निर्भरता र स्वयत्ततामा आबद्ध समष्टि सृष्टि संरचना, जसभित्र मानव समाज, र त्यसमा परिघटित हुने यावत् परिघटनाहरू पनि निहित छन् तथा अक्षय, अव्यक्त, निरन्तर गतिमान पदार्थ/तत्त्व, गति, काल र आकाश/व्यौम तथा ज्ञानकाबीचका द्वन्द्वात्मक सम्बन्धहरूका अध्ययनको जटिलतम दार्शनिक पद्धति हो। र, शाश्वत गतिमान तथा परिवर्तनशील विश्वब्रह्माण्डको गति तथा परिवर्तनका स्वत्वको सार तिनमा नैसर्गिक गुणधर्मको रूपमा अन्तरस्थ दुई परस्पर विरोधी चरित्रयुक्त अवयवहरूको पारस्परिक एकत्व र संघर्षको अन्तरसम्बन्धमा निहित छ। समष्टि सृष्टि संरचना ‘द्वन्द्व-गति-परिवर्तन’को शाश्वत नैसर्गिक नियम अन्तरगत निरन्तर गतिमान छ। गति बिना पदार्थको अस्तित्व र पदार्थ विना गतिको अस्तित्व अकल्पनीय कुरा हो। यस शाश्वत सनातन गतिकै क्रममा पदार्थ आ-आफ्नै विशिष्टता सहितका इहलौकिक र पारलौकिक अनेक रूपमा प्रकट हुन्छ, परिवर्तन हुन्छ र विकसित र विनाश हुँदै जान्छ।

यो समष्टिगत संरचना कसैको चाहना वा परिकल्पनाबाट नियन्त्रित र निर्देशित नभई आफैमा अन्तरस्थ शाश्वत, स्वतन्त्र र सार्वभौम गुणधर्म र नियम अन्तरगत स्वतन्त्र रूपमा गतिमान छ। र, यो गति, परिवर्तन र विकास निश्चि नैसर्गिक, सार्वभौम नियम अन्तरगत स्वयं क्रियाशील छ। पदार्थको प्रत्येक व्यक्त र अव्यक्त रूप अनन्त बाह्य तथा आन्तरिक सम्बन्धमा जेलिएको र विविध गुणधर्म सहितको जटिल संरचना भित्र छ। निरन्तर परिवर्तनको यस गतिको कारण, चरित्र तथा दिशाको नियमन द्वन्द्वात्मक विकासका सार्वभौम नियमद्वारा भइरहेको छ। मार्क्स, एंगेल्स र लेनिनले त्यस परिवर्तन र विकासलाई हाम्रो ज्ञान तथा चेतनाले सहजरूपमा ग्रहण गर्न सक्ने गरी प्रक्रियागत र चरित्रगत अवधारणा प्रतिपादित गरिएका छन्, जसको आधारमा हामी प्रकृति र मानव समाज तथा ज्ञानको क्षेत्रमा हुने यी द्वन्द्वात्मक परिवर्तनको आम गुणधर्मिता, क्रमिकता, चरित्र र पारस्परिक सम्बन्ध र अन्तर्निहित कारणहरूलाई आत्मसात् गर्न सक्छौं। मार्क्सद्वारा प्रतिपादित विकासका सार्वभौम द्वन्द्वात्मक नियम र दार्शनिक अवधारणहरू यस दार्शनिक पद्धतिको आत्मा हो।

मार्क्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवाद मानव विकासको इतिहासबाट प्राप्त ज्ञान र वैज्ञानिक उपलब्धिहरूको जगमा जन्मेको विज्ञान हो। यसले भौतिक जगत (प्रकृति), जसभित्र मानव समाज पनि पर्छ, को निरन्तर नैसर्गिक द्वन्द्व-गति-परिवर्तनका प्रक्रियाको एकत्व र विविधता, पारस्परिक निर्भरता र स्वतन्त्रता, अन्तर सम्बन्धन र विरोधाभाष आदिको कारक तत्त्व, त्यसको प्रकृति, चारित्रिक विशेषता तथा परिवर्तनको प्रक्रिया र दिशालाई समष्टिगत रूपमा द्वन्द्वात्मक भौतिकवादका तीन सार्वभौम सिद्धान्त र दार्शनिक मूल अवधारणाहरू (Categories)को माध्यमबाट व्याख्या गर्छन्। भौतिकवादी द्वन्द्वात्मक विकासका नियमहरूलाई यिनको चरित्रगत विशिष्टता र क्रियाशील रहने क्षेत्रको आधारमा मोटामोटी तीन भागमा बाँड्न सकिन्छः-

१. विशिष्ट नियमहरू (Particular Laws) : यी नियमहरू पदार्थ विशेषको गतिका विशिष्ट फाँटहरूमा मात्र लागू हुन्छन्। पदार्थ र क्षेत्र विशेषका गतिको रूपका लागि यी आधारभूत र सार्वभौम चरित्रका भए पनि त्यसभन्दा बाहिरको क्षेत्रका लागि यी सत्य हुँदैनन्। लागू पनि हुँदैनन्।

२. आम नियम (Genaral Laws) यी नियमहरू एउटै वर्ग र समूह अन्तरगत पर्ने र समान गुणघर्म र समान प्रकृति भएका पदार्थ र परिघटनाहरूको सम्पूर्ण फाँटमा लागू हुने भौतिक आधारभूत नियम हुन् र त्यस वर्ग र समूहभित्र सर्वत्र समान रूपमा लागू हुन्छन् र अध्ययनको त्यस फाँटका लागि मात्र सत्य हुन्। जस्तो भनौं ‘मेटाबोलिज्य’ को प्रक्रिया र विशिष्टता जीव जगको क्षेत्रमा मात्र सत्य हो र सामाजिक उत्पादन सम्बन्धहरूबाट जन्मिने सामाजिक सम्बन्ध र तिनका अन्तर्द्वन्द्व आम नियम सामाजिक गतिका लागि मात्र सत्य छन् अन्यत्र लागु हुँदैनन्।

३. सार्वभौम नियमहरू (Universa Laws) : यसमा द्वन्द्वात्मक भौतिकवादका सर्वकालिक, सार्वत्रिक र सार्वभौम बस्तुगत नियम पर्छन्। यी नियमहरू सृष्टि संरचनाको प्रत्येक फाँटमा र प्रत्येक पदार्थको गति, ज्ञानको विकास तथा परिघटनाहरूका लागि समान रूपले सत्य र सर्वत्र लागू छन्। जस्तो भनौं, ‘द्वन्द्व-गति-परिवर्तन’को नियम, यावत पदार्थ तथा परिघटनाहरूमा नैसर्गिक रूपले अन्तरस्थ विपरीत अवयवहरू बिचको एकत्व र द्वन्द्वात्मक प्रवृत्ति आदि जस्ता नियमहरू समस्त प्राकृतिक संरचना र तिनका सहसम्बन्धहरूमा स्वभाव सिद्ध नैसर्गिक रूपमा लागू छन्। ती हुन्-

१. विपरीत अवयवहरूका एकत्व र संघर्षको नियम

यस सिद्धान्तले भौतिक जगत, मानव समाज र ज्ञानको गति, परिवर्तन र विकासको मूल कारण र त्यसका चरित्रको व्याख्या गर्दछ। सही अर्थमा भन्ने हो भने द्वन्द्वात्मक भौतिकवादको मूल सार यसै सिद्धान्तमा निहित छ र यो त्यसको मुटु हो। अन्य दुई सिद्धान्त यसैबाट निःश्रृत गति र परिवर्तनको अवस्था, चरित्र, दिशा र परिणाम बोधक पूरक सिद्धान्त हुन्। यस सिद्धान्त अनुसार विविधता युक्त संसारको कुनै पनि पदार्थमा वा परिघटनाहरूको परिवर्तन आफैमा पूर्ण रूपले निरपेक्ष र एकांकी रूपमा परिघटित हुँदैन, बल्की यो अथवा त्यो रूपमा पारस्परिक सम्बन्ध र एक अर्कोबाट प्रभावित रहन्छन्, एक अर्काको कारण र परिणामको रूपमा हुन्छन्।

यसको मूल कारण सृष्टि जगतको प्रत्येक पदार्थ र त्यहाँ परिघटित हुने घटनाहरूको अस्तित्व त्यसमा नैसर्गिक रूपले अन्तरस्थ परस्पर निषेधात्मक प्रवृत्तिका दुइटा परस्पर विरोधी अवयव (पक्ष) हरूका बिच स्थापित रहने एकत्व र पारस्परिक अन्तर्द्वन्द्व अवस्थामा छन् र तिनका बिचको एकत्व ती पदार्थ वा परिघटनाको अभिव्यक्त रूप र अस्तित्वको कारक हो भने ती विपरीत अवयवहरूको पारस्परिक निषेधात्मक द्वन्द्वात्मक नैसर्गिक प्रवृत्ति त्यसका निरन्तर द्वन्द्व-गति-परिवर्तनको कारण हो। प्रकृतिको प्रत्येक पदार्थ र त्यहाँ परिघटित हुने परिघटनाहरूको एकत्व र द्वन्द्वको नैसर्गिक प्रवृत्ति भौतिक जगतका यावत पदार्थ, परिघटना, चेतनाको विकास, सामाजिक संरचना र परिवर्तन, प्राकृतिक गुणधर्मिता आदि समग्र क्षेत्रमा स्वभाव सिद्ध ध्रुव सत्यको रूपमा सर्वत्र विद्यमान छ।

यी विपरीतहरूबिच एकत्वको प्रवृत्तिका कारण नै प्रकृतिको प्रत्येक अभिव्यक्त पदार्थ, त्यसमा परिघटित हुने परिघटना र तिनका परिणाम बोध गम्य छन् र हामी सर्वत्र यस विपरीतताको बोध गर्छौं। जस्तै गुणाको क्षेत्रमा हेर्ने हो भने मीठो-नमिठी, गुलियो-तीतो, ठोस-कमलो आदि, आकार-प्रकारको क्षेत्रमा होचो-अग्लो, मोटो-पात्लो, अथवा अनुभूतिको क्षेत्रमा, सुख-दुःख, हर्ष-बिस्मात अथवा परिवर्तनको क्षेत्रमा अग्रगमन-पश्चगमन, गतिमान र स्थिर, अँध्यारो-उज्यालो, धनात्मक-ऋणात्मक, बायोलौजीकल उत्पादन-पुन उत्पादन इलेक्टोन प्रोटोनको एकत्व र द्वन्द्व, सिन्थेसिस र डिकम्पोजिशन प्रक्रिया आदि।

मानिसले यिनै प्राकृतिक दृश्य, श्रव्य, स्प्रश्य र अनुभूत अवयव र परिदृश्यहरूबाट नै प्रकृति, मानव र समाज आफैमा निरन्तर परिवर्तनशील छ, र यहाँ उत्पत्ति-विकास-विनाशको शाश्वत नियम लागु छ भन्ने कुराको अनुभव आदिम काल देखिनै प्रत्यक्ष अनुभवबाटै अनुभूत गरेको ज्ञान हो। प्राचीन पूर्वीय दर्शनका उपरोक्त केही गुरुकुल तथा ग्रीकका चिन्तकहरूले यस परिवर्तन र गतिको कारण पदार्थ स्वयं भित्र शाश्वत रूपमा विद्यमान छ भन्ने कुरा दर्साएका हुन्। तर, मार्क्सले यही परिवर्तनको कारण र यसको कारक शक्ति पदार्थको स्वत्वमा अन्तर्निहित दुई परस्पर विरोधी चरित्रका अवयवहरूको सहअस्तित्व र पारस्परिक निशेषधको प्रवृत्तिबाट उत्पन्न हुने गति हो र मानव समाजमा पनि यस्तो प्रवृत्ति दुई परस्पर विरोधी चरित्रका सामाजिक वर्गहरूबीच एकत्व र संघर्षको रूपमा विद्यमान छ र यो सामाजिक वर्ग र वर्गसंघर्षको रूपमा प्रकट हुन्छ। यसै वर्गसंघर्षको कारण समाज परिवर्तन भइरहेको छ भन्ने निष्कर्ष सहित मानव समाजलाई ऐतिहासिक भौतिकवादका वस्तुगत नियमहरूबाट व्यवस्थित र नियमित परिघटनाको रूपमा प्रस्तुत गरे।

प्रत्येक विषयवस्तुमा यी अन्तर विरोधी चरित्रहरू तिनको स्वभावजन्य नैसर्गिक प्रवृत्ति र ध्रुवसत्यको रूपमा छन्। जबसम्म तिनका परस्पर विरोधी तत्वहरूबीच सहअस्तित्व वा एकत्वको अवस्था कायम रहन्छन् तबसम्म मात्र त्यस पदार्थ वा परिघटनाको त्यस रूपमा अस्तित्व रहन्छ। जब पारस्परिक द्वन्द्व एकले अर्कोलाई निषेध गर्छन् तब त्यस वस्तु वा परिघटनाको आफ्नो त्यो अस्तित्व समाप्त हुन्छ। परिणाम स्वरूप पदार्थ वा परिघटना नयाँ परिवेश र नयाँ रूपमा संक्रमण गर्छन्। जस्तो सामाजिक क्षेत्रमा हेर्ने हो भने दाश व्यवस्थामा दाशहरूको अस्तित्व समाप्त हुनासाथ वर्गको रूपमा दाश र दाशमालिकको अस्तित्व रहेन र दाश व्यवस्था पनि रहेन, समाज सामन्तवादी संरचनामा संक्रमित भयो।

पूँजीवादी आर्थिक संरचनामा पूँजीको अस्तित्व समाप्त हुना साथ ज्यालादारी श्रमको अस्तित्व पनि समाप्त हुन्छ र यसबाट पूँजीपति र मजदुरको वर्गीय अस्तित्व पनि रहँदैन र समाज पूँजीवादबाट समाजवादी संरचना संक्रमण गर्छ। समाजवादी सामाजिक-आर्थिक संरचनामा सामाजिक अन्तरविरोध नयाँ रूपमा अगाडि आउँछ। तर, यी अन्तरविरोधहरूलाई सामान्य यान्त्रिक रूपमा बुझ्नु लगत हुन्छ। तिनलाई तिनमा अन्तरस्थ परस्पर विरोधी तत्वहरूको एकत्व र संघर्षका बिच रहने द्वन्द्वात्मक अन्तरसम्बन्धहरूको परिपेक्षमा हेर्नु पर्छ। एउटा राजनैतिक कार्यकर्ता र क्रान्तिकारीका लागि, विशेष गरेर सामाजिक परिघटनाहरू तथा वर्गीय सम्बन्ध र वर्गसंघर्षको विश्लेषण गर्दा, वर्गीय रूपमा यी सामाजिक विपरीतहरूका अवस्थाको सही आंकलन गर्नु अति आवश्यक हुन्छ। यसको सही पहिचानबाट मात्र क्रान्ति विकासको प्रक्रिया र त्यसको सफलतालाई सुगम र सुनिश्चित गर्न सहज हुन्छ।

२. मात्रात्मकबाट गुणात्मकमा र गुणात्मकबाट मात्रात्मकमा रुपमान्तरणको नियम

यस नियमले परिवर्तनको मूल चरित्रको बोध गराउँछ। वस्तु र परिघटनाहरू एक्कासि र अनायास परिवर्तन हुँदैनन् बल्की गति-परिवर्तन-विकाशको द्वन्द्वात्मक शृंखलामा क्रमिक परिमाणात्मक परिवर्तन हुँदै गुणात्मक परिवर्तनको चरणमा प्रवेश गर्छन्। तर, मात्रात्मक परिवर्तनको गुणात्मक परिवर्तनमा संक्रमणको प्रक्रिया एकपक्षीय चरित्रको होइन गुणात्मक परिवर्तन पुनः परिमाणात्मक परिवर्तनको चरणमा प्रवेश गर्छ। यो प्रक्रिया केवल सतही, दृश्य तथा वोघगम्य अवस्थाहरूमा देखा पर्ने परिवर्तनहरूको रूप मात्र होइन, बल्की पुरातनको समाप्ति र नयाँको उत्पत्तिको लागि अपरिहार्य वस्तुगत अवस्था निर्माण गर्ने प्राकृतिक गुणघर्मिताको द्वन्द्वात्मक गति हो।

यस नियमले विकास र परिवर्तनको प्रवृत्ति, प्रक्रिया, परिणाम, चरित्र र दिशा बोध गराउँछ छ। विज्ञानका विविध फाँटहरूमा यो प्रक्रिया आफ्नै विशिष्ट चरित्र र अवस्थाहरूबाट अगाडि बढ्छ भने सामाजिक क्रान्ति र परिवर्तनका परिघटनाहरूमा मानिसमा सामाजिक विकास र परिवर्तनको चाहना, वर्गसंघर्षको विकास, श्रमिक वर्गका सामाजिक राजनैतिक चेतनाको विकास, सांगठनिक अवस्थाको विकास, पार्टीहरूको अवस्था र राजनैतिक तथा वैचारिक स्तरको विकास आदिमा क्रमिक उध्र्वगामाी परिवर्तनको प्रक्रियाबाट अगाडि बढ्छ र त्यही रूपमा परावर्तन पनि हुन्छ।

गुणात्मक परिवर्तन एक्कासि नभएर परिमाणात्मक विकासको क्रमिक निरन्तरताको उच्चतम र विकसित अवस्थामा सम्पन्न हुने परिघटना हो। अर्को शब्दमा गुणात्मक परिवर्तन परिमाणात्मक परिवर्तन आफ्नो उच्चतम विन्दुमा पुगेपछि आफ्नो पूर्ववर्ती अवस्थासँग विच्छिन्नता र नयाँ अवस्थाको अभ्युदयको विन्दुमा हुने क्रमिक क्रमभंगताको अवस्था हो, जसले पुरातनलाई समाप्त गर्छ र नयाँलाई जन्म दिन्छ। तर, पुरानोलाई समाप्त गर्नको अर्थ त्यसको सम्पूर्ण समाप्ति र शून्यबाट नयाँको सृजना होइन, त्यो अकल्पनीय कुरा हो।

नयाँ अवस्था पुरानोबाटै जन्मिने र त्यसकै जगमा उभिने र विकसित हुने प्रक्रिया हो। अर्थात् यो क्रमिक क्रमभंगताले एकतर्फ पुरातनमा स्थित विकासोन्मुख अवयवहरू त आफूमा समाहित गरेको हुन्छ भने अर्कोतर्फ नयाँको प्रविष्टिले गर्दा विषयवस्तु वा परिघटनाले नयाँ सार ग्रहण गर्छ। केवल पुरानो अवस्थाका ती पक्षहरू जुन नयाँ अवस्थाको मागसँग मेल खाँदैनन् वा नयाँ अवस्थामा गतिमान रहन सक्दैन तिनलाई निषेध गर्ने हो। सकारात्मक र गतिशील विगतका उपलब्धिहरूलाई नयाँ अवस्थामा गतिमान गर्ने हो। अतः परिवर्तन भन्नु नै परिमाणात्मक परिवर्तन र गुणात्मक परिवर्तनको एकत्व र विच्छेदनको संयोजक विन्दु हो र प्रक्रियागत निरन्तरताको कडी हो। यसै चरणबाट गुणात्मक परिवर्तन पुनः मात्रात्मक परिवर्तनको चरणमा प्रवेश गर्छ। यसलाई कुनै खास सीमाभित्रका सामान्य परिवर्तनको रूपमा नभै नयाँबाट पुरानाको स्थान लिने प्रक्रियाको रूपमा लिनु पर्दछ। कुनै पनि वस्तुको सारभूत गुण नै उसको पहिचान र अरूभन्दा भिन्नताको बोधक हो। एक अवस्थाबाट अर्को अवस्थामा सङ्क्रमण गरेपछि उ नयाँ सार सहित नयाँ अस्तित्वमा आउँ छ।

सामाजिक परिवर्तनका लागि, विशेष गरेर राजनैतिक क्रान्तिको आधार निर्माण गर्ने क्रममा र क्रान्तिपछिको चरणमा, त्यसमा पनि विशेष गरेर समाजवादी क्रान्तिपछि, जसले विगतको वर्गीय समाज र उत्पादनका श्रोत साधानमाथी स्वामित्वको अवस्थालाई गुणात्मक रूपमा परिवर्तन गरी विगत हजारौं वर्षदेखि चलिआएको सामाजिक आर्थिक संरचनाको सार र आधारलाई समाप्त गर्छ र नयाँ सार र आधारको सामाजिक संरचनाको निर्माण गर्छ। त्यस नवनिर्माणको दौरान परिमाणात्मक परिवर्तनको क्रमिकतालाई सम्यक र सचेत रूपमा व्यवस्थित गर्नु प्रथम आवश्यकता हुन्छ।

क्रान्तिपछि सृजित नयाँ आर्थिक-सामाजिक संरचनाको सफल रूपान्तरण र निर्माणका लागि सामाजिक, आर्थिक, वैचारिक, राजनैतिक, सांस्कृतिक यावत क्षेत्रमा गरिने परिवर्तनको क्रममा परिमाणात्मक परिवर्तनको विशेष महत्त्व हुन्छ। परिवर्तनको यस चरणमा सामाजिक, राजनैतिक, वैचारिक र आर्थिक अवस्थाको वस्तुपरक आंकलन गरी परिमाणात्मक परिवर्तनको सफल कार्यान्वयनबाट मात्र समाजवाद निर्माणको संक्रमणकालीन चरणलाई सफलता पूर्वक पार गर्न सम्भव हुन्छ। अति क्रान्तिकारिता र तुरुन्त गुणात्मक छलाङ लगाउने मनोगत दुष्प्रयासका परिणामको टड्कारो उदाहरण चीनको ‘लामो फड्को’को नीति, सोभियत संघमा स्टालिनले कृषिको सामुहीकरणमा अपनाएको नीति, कम्बोडियाको नरसंहार आदि हुन्।

३. निषेधकका निषेधको नियम

पारस्परिक निषेधात्मक द्वन्द्व सहितको एकत्व र निषेधात्मक द्वन्द्व विकास र परिवर्तनको अपरिहार्यताको अवस्था निर्माण गर्नमा गुण र मात्राबिचका अन्तरसम्बन्ध र अन्तर्द्वन्द्व विशेष स्थान छ र यो परिवर्तनको निरन्तरताका लागि आधारभूत अवस्था हो। यसक्रममा जब पदार्थका अन्तरस्थ प्रतिपक्षी अवयवहरू त्यस संरचना वा परिघटना भित्र सहअस्तित्वमा रहन नसक्ने अवस्था सृजना हुन्छ। उनको निषेधात्मक प्रवृत्ति निर्णायक रूपमा क्रियाशील हुन्छ र एकले अर्कालाई निषेध गर्छन् र पदार्थ, परिघटना र समाज नयाँ अवस्थामा संक्रमण गर्छन्। यही अवस्था पदार्थ, परिघटना र समाज आदिमा हुने गुणात्मक परिवर्तनको अवस्था हो। अर्थात् यस अवस्थामा नै पदार्थ, परिघटना र समाज आदिमा रहेका त्यस अवस्थाका अन्तरविरोध हरूको अन्त र नयाँ अन्तरविरोधहरूको जन्म हुन्छ। यो अवस्था नै सामाजिक क्रान्ति, रासायनिक परिवर्तन, बायोलोजीकल परिवर्तन, वातावरणीय विस्फोट आदि यावत परिवर्तनको विन्दु हो र यो एउटा विन्दुमा सम्पन्न हुने परिघटना हो। तर यसै विन्दुबाट नयाँ अन्तरविरोध र नयाँ अवस्थाका पारस्परिक निषेधात्मक प्रवृत्तिको जन्म हुन्छ र नयाँ प्रवृत्ति पुनः नयाँ रूपमा क्रियाशील हुन्छन्। नयाँ अन्तर्द्वन्द्व र नयाँ निषेघकलाई जन्म दिन्छन्। यो गतिशील पदार्थ तथा परिघटनाहरूको शाश्वत तथा नैसर्गिक चरित्र र प्रवृत्ति हो। यहीँबाट प्रथम निषेधकको निषेध गर्ने नयाँ चरण शुरु हुन्छ र नयाँ निषेघक क्रियाशील हुन्छ।

त्यसकारण निषेधका निषेधको नियमको प्रवृत्तिलाई थेसिस- अन्टीथेसि- सिन्थेसिस, अर्थात्- विकासको प्रारम्भिक चरण, पहिलो निषेध र दोस्रो निषेधको अटुट शृङ्खलाको रूपमा लिने गरिन्छ र यस विन्दुलाई गति-परिवर्तन-विकास श्रृंखलाका त्रैतको संयोजनको अवस्था मानिन्छ। समाजको क्रान्तिकारी गुणात्मक परिवर्तनको अवस्था ठम्याउन अर्थात् क्रान्तिकारी अवस्थाको सही आंकलन गर्न समाजमा तत्काल विद्यमान रहेको यस्तो पारस्परिक निषेधात्मक वर्गीय अवस्थाको सही आंकलन गरेर आफ्ना सचेत क्रान्तिकारी गतिविधि निर्धारण गर्नु सके मात्र क्रान्ति सफल हुन्छ

साभार ः लोकपाटी

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button