Uncategorizedबिचार

नीति भन्दा नेता प्रधान भएपछि …

पूर्णचन्द्र सिग्देल

नेपालको राजनीति विगत २५ वर्ष देखि बुढो पुस्ताले नै धानी रहेको छ । पञ्चायतकालीन व्यव्यस्था हुँदाका बखत बहुदलिय व्यबस्था ल्याउँने बहानामा राजनीति गर्ने दलका नेताहरु नै अहिले दलको प्रमुख हुदै सरकारमा समाहित भैरहेका छन् । आलोपालो सबैले सरकार चलाई सकेका छन् । सरकार चलाएर असफल भैसकेकाहरु जो संग सरकार चलाउन सक्ने जनाधार छैन र पनि सत्ता प्राप्तिका लागि दौडिई रहेको छन् । नेपाली नेतृत्वमा यति धेरै खराव आचरण बसीसक्यो कि आफुले देश र जनताका लागि गर्न नसकेको काम अरु कसैले गर्न खाज्यो भने उ स्थापित नेता बन्छ र म ओझेलमा पर्छु कि भन्ने सोचले मिसन र भिजन बोकेको नेतालाई सहयोग गर्नुका सट्टा गलत संस्कार अपनाएरै भए पनि गलहत्याएर सत्ता च्यूत गराउँनै पर्ने । जसले गर्दा सरकार बनेपछिको पाँच वर्षे कार्यकाल सहज ढंगले पुरा गर्न कुनै पनि सरकारले पाएनन् । देशले नेता त धेरै पायो तर नेतृत्व पाउन सकेन । सबै नेताले आफुलाई मात्र केन्द्रमा राखे देशलाई कहिल्यै राखेनन् ।
यसले के संकेत गर्दछ भने कुनै पनि नेताले नमरुञ्जेलसम्म सत्ता वा नेतृत्व छोड्न चाहदैं । जब जो कोही पनि नेता बन्दछ उसमा घमण्ड यति धेरै बढ्छ की म नै भगवान हुँ । मैले गरेपछि सबै कुरा ठिक हुन्छ । अरु सबै मेरा रैती हुन । गलतै गर्दा पनि मैले गरेको सबै ठिक र त्यही चै अरुले गरे बेठिक हुन्छ भनेर बुझ्ने मानसिकता बोकेका नेताको पछाडी हामी लागेका छौं । राजनीतिको मुहानमा नै धमिलो पानी बगेपछि धारामा सफा बग्ने आश गर्नु मुर्खता हो । नेतृत्व खराव छ भनेर बारम्बार हामी नै भनिरहेकै छौं तर फेरी नेता छान्नु पर्दा उनैलाई छान्दछौं ।
विश्वका केहि देशहरुलाई हेर्ने हो भने झण्डै ३० वर्ष अगाडी हामी भन्दा असाध्यै कमजोर देश अहिले धेरै सम्पन्न भैसके । ति देश युरोप भित्रका हुन वा दक्षिण एशियाका किन नहुन । जसले देशमा भएका अपार संभावनालाई चिने र व्यबहारमै उतारे र आफुलाई विश्व बजारमा प्रस्तुत गराउँन सफल भए । एउटा कुशल नेतृत्व देशले पाउने हो भने देश समृद्घ बन्न धेरै समय लाग्दैन भन्ने उदाहरण धेरै देशहरुलाई हेरेर भन्न सन्छि । जहाँ राजनीतिक अस्थिरता हुन्छ त्यहाँ केहि पनि कुराको दीगो विकास हुन सक्दैन ।
हामीले देश र जनताको मुहार फेर्न भनेर पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसंगैं धेरै व्यबस्था फे¥यौं तर नेता फेर्ने बारेमा कहिल्यौ सोचेनौं । जसको कारणले आज हामी विज्ञानको नियमानुसार हुने बिकास बाहेक अरु बिकास केही पनि पाँउन सकेनौं । विज्ञानको नियम अनुसार भन्नाले समय सापेक्ष हुने विकासलाई बुझिन्छ । त्यो भनेको नेताहरुले चाहे अनुसारको भए पछि मात्र अन्य कुराको विकास हुन्छ । नत्र उनिहरुकै तजविज अनुसार हुनेछ र विकास उनिहरुको निगाहमा हुनेछ ।
यसलाई यसरी लिन सकिन्छ की हिजो सामान्य परिवारको व्यक्ति सहर पस्छ र पार्टिको झण्डा बोक्न शुरु गर्छ र केही वर्षको फरकमै उसको जीवनमा आमूल परिवर्तन आउँछ । उसको पेशा, व्यवसाय वा जागिर केही थिएन तर अहिले उ सम्पन्न छ । उस्कै नाममा ठुलाठुला कम्पनी छ । धेरै वटा कम्पनीमा सेयर छ । महंगो मूल्य पर्ने घर र गाडी उसैको छ । उही नेता सर्व सम्पन्न छ । नेताका बारेमा यती धेरै बुझ्दा बुझ्दै पनि हामी फेरी उनिहरुलाई नै बारम्बार नेता बनाउँन चाहन्छौं भने दोष उनिहरुको मात्रै हो की हाम्रो पनि छ ?
अब पछिल्लो पुस्ताका हामी युवाले धेरै अगाडीका विषय त खोजीनीति त गर्न नसकौंला तर बहुदलिय व्यवस्था आएपछिका नेता तथा उच्च व्यक्ति भनिएकाहरुको सम्पत्ती छानबिन गरौं र नियमानुसारको कमाई बाहेक अरु सम्पत्ती सरकारीकरण मात्र गर्ने हो भने राज्य कोषमा धेरै ठूलो रकम जम्मा हुन्छ । जुन रकमले ठुला र दिर्घकालिन आयोजनाहरु शुरु गर्न सकिन्छ । यस्ता ठुला र दिर्घकालीन आयोजनाले धेरैलाई रोजगारी दिन्छ । भ्रष्टाचारलाई धेरै ठुलो मात्रामा नियन्त्रण गर्न सकिन्छ । यसो गर्दा सरकारी सम्पत्तीको दुरुपयोग तथा भ्रष्टाचार हुने संभावनाका कुरा निक्कै कम हुन्छ । यो अभियानमा जुनसुकै दल वा सो भन्दा बाहिरको हरेक व्यक्तिले आजैबाट संलग्न हुने प्रण गर्दै समृद्घ नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा लाग्नु पर्दछ ।
अहिले विश्व कोभिड–१९ को महामारीले अक्रान्त छ । कोभिड सर्न नदिन भौतिक दुरी कायम गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उद्योग कलकारखाना बन्द गर्दा विश्वकै अर्थतन्त्र धारासायी बन्दै गैरहेको छ । हाम्रो देशलाई पनि प्रत्यक्ष रुपमा यसले नराम्रोसंग प्रभाव पारेको छ । केही व्यवसायीहरु टाट पल्टीसकेको अवस्था छ भने बाँकी धेरैको अवस्था दयनिय बन्दै गएको छ । लाखौं मजदुरको रोजगारी खोसिएको छ । धेरै भन्दा धेरै नागरिक राहतमा बाँच्नु पर्ने अवस्थामा पुगेका छन् । जसले गर्दा धेरै खालका मान्छेमा मानसिक समस्या बढ्दै गएको छ । यसलाई बेलैमा ध्यान दिन सकिएन भने कोरोनाका कारणले भन्दा पनि बैंक बित्तिय संस्थाहरुले दिने तनावले ज्यान जान सक्छ । यो अबको केही दिनपछिको गंभिर चुनौतीको विषय हो । राज्यले यस तर्फ ध्यान दिनै पर्छ ।
त्यसैले अब युवाले आफ्नै र देशको भविष्यको बारेमा अहिल्यै सोचेनौ भने भोली पनि आजैको जस्तो पुर्पुरोमा हात राखेर तिनै नेतालाई सराप्ने दिन आउँन धेरै टाढा छैन । आफ्नो र देशको भोलीको भविष्य बारे साचौं । अहिलेका नेता ओली, देउबा, प्रचण्ड, माधव, झलनाथ, बाबुराम लगाएतबाट हामीले के आशा गर्न सक्छौं ? जसले आफ्नै नेतृत्वको पार्टिलाई एक ढिक्का बनाएर त लान सकेनन् । अनि देश बनाउँछन भनेर पत्याएर तिनकै पछि लागेर आफ्नै भविष्य किन विगार्दै छौं हामी ? केही अन्धभक्तलाई तितो पनि लाग्न सक्छ तर यथार्थ यहि नै हो । त्यसैले समय अझै बाँकी छ, समयमै हामी युवाले हामी र हाम्रो देशको लागि सोच्ने असल नेतृत्व चयन गर्न तर्फ लागौं ।

– लेखक सिग्देल बन्धु प्रतिष्ठान नेपालको उपमहासचिब हुनुहुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button