बिचार

समृद्ध वर्दियाको लागि पर्यटनको महत्व

कवीन्द्रराज भट्टराई
वि. सं. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहलाई तत्कालिन प्रधानमन्त्रि श्री ३ जंगबहादुर राणाले समाधान गर्नका लागि ईष्टईन्डिया कम्पनीलाई सहयोग गरे बापत वि. सं. १९१७ मा चार जिल्लाहरू बाँके, वर्दिया, कैलाली र कंचनपुर नेपाललाई फिर्ता गरिएबाट वि. सं. १८७३ को सुगौली सन्धीमा गुमेका केही भु–भाग नेपालले प्राप्त गरेपछि नयाँ मुलुकको नामले चिनिने जिल्ला मध्ये एक हो वर्दिया जिल्ला २०२५ वर्ग कि. मि. क्षेत्रफल रहेको यस जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको बहराईच जिल्ला पर्दछ । साँस्कृतिक विविधता सहितको यो जिल्ला जैविक विविधताले भरिपूर्ण रहेको जिल्ला हो ।
देशकै ठुलो कर्णाली नदी यसै जिल्लाबाट बग्ने हुनाले सिंचाईको प्रचुर संभावना रहेको भएता पनि भेरी डाईभर्सन प्रोजेक्ट अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन् । दुई तिहाई भन्दा बढी समथर जमिन रहेको यो जिल्लालाई नेपालको अन्न भण्डारको रूपमा समेत लिईन्छ ।
दुर्लभ वन्यजन्तु ’कृष्णसार’ लाई वर्दियामा प्राकृतिक रूपमै संरक्षण गरेर राखिएको छ । यहाँको धार्मिक–भाषिक विविधता, विविध धार्मिक पर्यटकीय स्थलहरू, भौगोलिक विविधतायुक्त ताल तलैयाहरू तथा वन्यजन्तु निकुन्ज लगायतले गर्दा यो जिल्ला पर्यटकीय रूपमा समेत अग्रणी स्थानमा रहेको छ । यहाँको हात्ती सफारीले चितवनलाई बिर्साउँदै आन्तरिक र बाह्य पर्यटकहरूको मनलाई लोभ्याई रहेको हुन्छ ।
सबै चिजले भरीपूर्ण रहेको वर्दिया जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि आवश्यक पूर्वाधारहरूको निर्माण गर्न सकिएको छैन् । पर्यटनको राजधानीको रूपमा रहेको पोखरा जस्तै विविधता यस जिल्लामा पनि पाउन सकिन्छ । यहाँका वासिन्दा, जनप्रतिनिधीहरू र स्थानिय सरकारहरूले चाहेको तवरमा विकासमा अघि बढाउन पनि यस जिल्लामा पर्यटन क्षेत्रलाई विकास गर्नु पर्ने देखिन्छ ।
पर्यटकीय क्षेत्रको प्रचुर संभावना बोकेको यस जिल्लालाई पर्यटन मैत्रि बनाउन सकेमा स्वरोजगारका अवसरहरू सिर्जना हुने निश्चित छ । स्वरोजगार वृध्दि सँगै आम्दानिको स्रोत समेत वृध्दि हुनेछ ।
जिल्ला भित्र रहेका बढैया ताल, सतखलुवा ताल यी प्राकृतिक तालहरू आँफैमा पर्यटनलाई आकर्षित गर्ने तालहरू हुन् । यिनलाई अझ विकास गरि डुंगा सयर, चरा निरिक्षण र अवलोकन तथा प्राकृतिक रूपमा रहेको तारा आकारको तालले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई समेत वर्दिया पुग्नै पर्ने गराउन सकिन्छ ।
ठाकुरद्वारामा रहेको हात्ती सफारी आँफैमा रोमान्चक र शाहसिक कार्य हो । हात्तीमा सयर गर्दै गर्दा देखिने चित्तल र हरिणका बथान अनि जंगली बाघ देख्न पाउनुको मज्जाले स्वर्ग मै पुगेको अनुभूति गराउँछ । हात्ती सफारी मात्र हैन त्यहाँ रहेको चिडियाखानामा देख्न पाईने गैंडा, चितुवा लगायतले मनलाई प्रफुल्ल बनाउँछ ।
डल्लामा रहेका होमस्टेहरूमा पाईने स्थानिय थारू खानाले स्वस्थ रहन प्रेरित गरिरहेको हुन्छ । देशकै लामो सडक पुललाई अलौकिक रूपमा लिन सकिन्छ । त्यसैगरी पुरानो प्लान्टुन पुलले हाम्रो ऐतिहासिक परिवेश जनाईरहेको हुन्छ ।
राजापुर टापुमा धेरै नेताहरूले पंचायतकालमा भूमिगत जिवन विताएका थिए । त्यसैले ऐतिहासिक पृष्ठभूमि बोकेको राजापुर टापुलाई कतिबेला हेरौं र आँखाभरि वीरताका गाथा बुनौं भन्ने भावना जागृत भईरहेको हुन्छ वर्दिया पुग्ने वाह्य पर्यटकहरूलाई समेत । रोजगारी र आम्दानिको स्रोत वृध्दि गर्न समेत जिल्लामा पर्यटनको विकास, प्रचार र प्रसार गर्नु आवश्यक छ ।
पोखरामा आउने विदेशी पर्यटकलाई वर्दिया आउने वातावरण सिर्जना गर्न सक्नु पर्दछ । त्यसकालागि वर्दियाका विभिन्न पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्न सक्नु पर्दछ । यसको लागि स्थानिय सरकारहरूले ठोस कार्यक्रम बनाई लागू गर्नु आवश्यक छ ।
वर्दियाका विभिन्न मठ मन्दिरहरू जस्तै सदाशिव, फेनापति, ठाकुरबाबा, कोटाही, केदारेश्वर धामले धार्मिक पर्यटकहरू लाई बोलाई रहेका छन् । तर पनि व्यवस्थित गर्न सकिएको छैन् । ठाकुरबाबा मन्दिरमा लाग्ने माघि मेला, डल्ला होमस्टेमा प्रदर्शन गरिने मौलिक थारू नाचले साँस्कृतिक परम्परालाई बचाउँदै मनोरन्जन समेत प्रदान गरि पर्यटकहरूलाई मौलिकताको स्वाद चखाई रहेका छन् ।
समग्रमा वर्दियाको विकासलाई खरायो गतिमा हिंडाउने हो भने पर्यटनको विकासलाई सँगसँगै लिएर जानु पर्दछ । वर्दियाको प्रवेशद्वारका रूपमा पूर्वमा कोहलपुर र नेपालगन्ज रहेका छन् भने पश्चिममा कर्णाली पुल र टिकापुर रहेका छन् । तत्कालिन जिल्ला विकास समितिको योजना पुस्तिकाका अनुसार वर्दिया जिल्लाका पर्यटकीय संभावना बोकेका ठाउँ र विशेषताहरू यसप्रकार पाईन्छ ।
१) नेपालमै सबै भन्दा बढी पाटे बाघ, गोही, डल्फिन, गजराज तथा विश्वकै दुर्लभ खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महाँचिल, लघु महाँचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले वगेडी जस्ता चरा चुरुंगी तथा जीवजन्तुका विविध प्रजाति रहेको ८९६ वर्ग मिटरमा फैलिएको वर्दिया राष्ट्रिय निकुन्ज ।
२) एशियाकै एक खम्बाबाट पहिलो पटक निर्माण भएको कर्णाली चिसापानीको पुल ।
३) विश्वकै दुर्लभ मानिएको र प्राकृतिक रूपले संरक्षण भएको कृष्णसार ।
४) नेपालकै सबै भन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल जसको लम्बाई १०१५ मिटर रहेको छ ।
५) पुरातत्वले महत्वपूर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, वागेश्वरी मन्दिर, कालिका मन्दिर, फेनापति मन्दिर, तारकेश्वर मन्दिर, जानकी मन्दिर, केदारेश्वर धाम आदि ।
६) प्राकृतिक रूपले निर्मित दक्षिण एशियाका चराचुरूंगीहरूको क्रिडा स्थल जहाँ साईबेरियाबाट समेत चराहरू आउँछन्, कमलका फूल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैयाताल ।
७) प्राकृतिक रूपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखलुवा ताल ।
८) कुरिलो, घ्युकुमारी, घोडटाप्रे, गुर्जो जस्ता अनेक प्रकारका जडिबुटीहरू ।
९) अन्न भण्डार ।
१०) कुम्भर अड्डा वेपत्तायोद्धा स्मृति पार्क ।
यति धेरै पर्यटकीय क्षेत्र र अनेक संभावना हुँदा हुँदै पनि तिनलाई व्यवस्थित तवरले विकास र प्रचार प्रसार गर्न नसकिएकाले वर्दियालाई “नकुँदिएको हिरा“ भन्न सकिन्छ । यी वहुमुल्य रत्नहरूलाई सहि तवरले व्यवस्थापन गर्न र पूर्ण रूपमा उपयोगमा ल्याउन सकेमा समृद्ध वर्दियाको चाहना सजिलै पुरा गर्न सकिन्छ ।

नेपालगन्ज, बाँके ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button