स्थानीय

कर्णाली नदीको बाढीले राजापुर तथा गेरुवा क्षेत्र डुबान

मिन अधिकारी । बर्दिया
तीन दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीले खतरा तह पार गरेको छ । वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहावले खतरा तह पार गरेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कर्णाली नदीमा पानीको सतह बढेर बाढीको जोखिम बढेको बताउनुभयो । गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका नदी तटिय क्षेत्रहरु सनकट्टी बन्कट्टी, टीहुनी, दौलतपुर, तिघ्रा, राजापुर लगायतका स्थानमा जोखिम बढेको र सतकर्ता अपनाउन स्थानीयलाई आग्रह गरीएको छ । स्थानीयको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बेमौषमी बर्षाले नगरपालिका क्षेत्रका डुवान भएको ठाउँको अनुगमन गर्दै नगर प्रमुख शिव प्रसाद चौधरीले अहिले धेरै धनको क्षति भएको र प्रभावित सबै नागरिकहरुको सुरक्षित उद्धार र व्यवस्थापनका लागि नगरपालिकाले आफ्नो स्रोत साधन, विभिन्न निकायहरुसँगको सहयोग र समन्वयको भरपुर प्रयोग गरी रातदिन नागरिकहरुको सुरक्षामा खटिने प्रतिबद्धता जनाउनु भएको छ ।

यता राजापुर नगरपालिकाको वडा नं. १ दौलतपुरस्थित मुर्गह्वा, टिहुनी, चनौरा, सोनाहागाउँ, दौलतपुर, सोनपुर लगायतका ठाउँमा बाढी पसेर ४४४ घर परिवार विस्थापित भएको कालिका मा वि सोनपुर चनौराका प्रअ विरवल चौधरीले वताउनु भयो । मुर्गह्वा र टिहुनी गाउँ पुरै जलमग्न भई अधिकांश घरमा पानी पसेको, खेतमा काटेर, मुठापारेर राखेको करिब ५ सय विगाहाको धान बगाएको उहाँको भनाई छ । सोनाहा गाउँका समाजसेवी तथा स्थानीय सोनाहा अगुवा शान्ति सोनाहाले बाढी पस्ने खतरा बढ्नासाथ आफुहरु आवश्यक सामान बोकेर सुरक्षित स्थानमा आएको वताउनु भयो । भदाली नालामा कर्णालीको पानी पसेर पुरै गाउँ नै डुवानमा परेको स्थानीय शान्ति सोनाहाको भनाई छ ।

राजापुर नगरपालिका वडा नं. ३ नंगापुर र चख्खापुरमा पानी पसेर ७० घरपरिवार विस्थापित भएका छन् । वडा नं. ४ लठ्वा र छेदिया नजिक कणाली नदीले जोखिम बढाउँदा स्थानीयले अस्थायी रुपले नियन्त्रण गर्न झालापाता र वोराले रोकावटको प्रयास गरी रहेका छन् । राजापुर नगरपालिका शंकरपुरमा पनि बुढीकुला र मुर्कटाको पानीको बहाव रोकिदाँ डुवान सुरु भएको स्थानीय समाजसेवीओम प्रकाश यादवले वताउनु भयो । काटेर खेतमा सुकाउन राखिएका, मुठा बाधेका अधिकांश किसानको धान खेतमै भिजेको छ भने केहीको धान बगेर बेपत्ता भएको छ । शंकरपुरको घोलघोले टोल, वीरबहादुर परियारको वोर्डर नजिक र सत्तारफारमको बाजुरा टोलमा डुवान भएको र बाजुरा टोलका स्थानीयलाई सुरक्षित स्थानन तर्फ सार्न लागेको स्थानीय यादवको भनाई छ । आफुहरु अन्नपात भन्दा पनि कसरी ज्यान जोगाउने भन्ने चिन्तामा रहेको भन्दै तत्कालै स्थानीय सरकार तथा प्रशासनले सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने यादवले वताउनु भयो ।

कर्णाली नदि फुटेर गेरुवा गाउँपालिकाको सरर्खाेल भठेरा, राजिपुर र सन्कटीबाट बस्तीमा पानी पसेको विपत् व्यवस्थापन समितिका फोकल पर्सन प्रकाश शर्माले जनाउनु भयो । अहिलेसम्म गेरुवा गाउँपालिकाको वडा नं. वडा नं. २ मा करिब १०० र वडा नं. ३ मा ११० घर परिवार विस्थापित भएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा विस्थापित स्थानीय बासिन्दालाई अस्थायी वासस्थानमा राखिएको छ । राजापुर नगरपालिका र बर्दिया अक्सिजन बैकले बाढीबाट विस्थापित स्थानीयलाई तत्कालका लागि चिउरा, चाउचाउ, विस्कुट, पानी र त्रिपाल राहत स्वरुप वितरण गरेको छ । विस्थापित र जोखिममा रहेका स्थानीयवासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, रेडक्रस, अक्सिजन बैकको सहयोगमा राजापुरका सुरक्षित स्थानमा राखिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले वताउनु भयो ।

चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले आज बिहानैबाट कर्णाली नदीको चिसापानीमा पानीको बहाव बढेको र अहिले साँझ ६ वज्दा सबैभन्दा उच्च १२.९० मिटर पुगेको बताउनुभयो । कर्णाली नदीमा पानीको बहाव १० मिटर नाघेपछि खतरा मानिन्छ । पहाडी क्षेत्रमा वर्ष भइरहेकाले चिसापानीमा पानी अझै बढीरहेको भन्दै नदी तटीय क्षेत्रमा बाढी आउन सुरु गरेको उहाँको भनाई छ । बेमौसमी बर्षाका कारण हिउँद याम सुरु हुनै लाग्दा कात्तिक महिनामा कर्णाली नदीमा यसबर्षकै उच्च पानीको सतह बढेको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button