बिचार

माघ ११ : त्यो दिनभर शुक्रराजको शव खरीको रुखमा झुण्डिइरह्यो

अग्ला भवनहरुले छेकिदिँदा सुन्धारा (काठमाडौँ) स्थित २२ तले धरहरा समेत आजकल वरिपरिका ठाउँबाट देख्न मुस्किल हुन्छ।

तर, काठमाडौँ सहरलाई कंक्रिटको जंगलले ढाक्नुअघि अवस्था भिन्न थियो। काठमाडौँ सहरको सबै भेगबाट धरहरा त देखिन्थ्यो नै, नजिकै रहेको केन्द्रीय कारागारबाट समेत पुरै काठमाडौँ देख्न सकिन्थ्यो।

८१ वर्षअघि ११ माघ (१९९७) को बिहान धरहरा नजिकै सुन्धारास्थित केन्द्रीय कारागारको उपल्लो तलामा राखिएका बन्दीहरुले करिब दुई सय मिटर पर, टेकु पचलीस्थित खरीको रुखवरिपरि मानिसहरुको भीड देखे।

खरीको रुखमा एकजना गेरुवस्त्रधारी मानिसको शव झुण्डिरहेको थियो। मानिसहरु त्यही शव हेर्न झुम्मिएका थिए।

इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषदको भूमिका (भाग १)’ मा उल्लेख गरेअनुसार, रुखमा झुण्ड्याइएको व्यक्तिको शरीरमा डम्बरकुमारीको वस्त्र, घरबाट उनकी आमाले तगेर पठाएको फलाटिनको खैरो भोटो, फनफनी बेरिएको नीलो मसिनो किनारा भएको सेतो धोती थियो।

 

 

टेकु पचलीमा झुण्ड्याइएका शुक्रराज शास्त्रीको चित्र (सौजन्यः शहीद शुक्र उच्च मावि, बागबजार)  

‘जनैमा झुण्डिएको साँचो तल भोटोबाट बाहिर देखिएको थियो, टाउको मुडुलो, लामा दारी थिए,’ साहित्यकार भीमनिधि तिवारीलाई उध्दृत गर्दै डा. गौतमले लेखेका छन्, ‘छातीमा भर्खर शिक्षा पाएका नवयुवकहरुलाई भड्काएर देशमा विद्रोह फैलाउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजाय भयो भनी एउटा सानो कागजको बोर्ड झुण्ड्याइएको थियो।’

खासमा त्यो शव सहिद शुक्रराज शास्त्रीको थियो। उनलाई अघिल्लो मध्यरात केन्द्रीय कारागारबाट निकालेर नजिकै रहेको टेकु, पचलीस्थित खरीको रुखमा लगेर झुण्ड्याइएको थियो।

‘नागरिक अधिकार समिति’ गठन गरी शासनको विरोध गरेको अभियोगमा राणा शासकहरुले नेपाल प्रजा परिषदका तीन कार्यकर्ताहरु दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठका साथ प्रजापरिषद्सँग सम्बन्ध नै नभएका शास्त्रीलाई फाँसीको सजाय सुनाएका थिए।

‘जेलमा बाहिर हेर्न र हावा–घाम लिन दक्षिणतिर झ्याल थियो, झ्यालबाट त्रिपुरेश्वर–कालिमाटीको बाटोको केही भाग र बागमतीसम्मको हरिया खेत र रुखहरु देखिन्थे,’ १९९७ को पर्वमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेपाल प्रजा परिषदका नेता गोविन्दप्रसाद उपाध्यायले ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’ मा लेखेका छन्, ‘त्यसदिन पचलीनर मचली भन्ने ठाउँमा मानिसहरुको आवत–जावत बढी देखियो। हामीप्रति सहानुभूति राख्ने जेलका चौकीदार झाबाट हामीले दिउँसो १२ बजेतिर थाहा पायौँ– जेलबाट निकालिएका शुक्रराज शास्त्रीलाई मचलीमा लगेर झुण्ड्याइएको रहेछ।’​

 

मृत्युदण्डस्थल टेकुस्थित शहीद शुक्रराज शास्त्रीको शालिक

जुद्ध शमशेरसँग सवाल–जवाफ
‘नागरिक अधिकार समिति’ को तर्फबाट इन्द्रचोकमा श्रीमद्भागवत गीताका श्लोकहरु उध्दृत गर्दै राणा शासनको विरोध गरेपछि शास्त्री १३ मंसिर १९९५ मा कार्यक्रमस्थलबाटै पक्राउ परेका थिए। त्यसबापत उनलाई ३ वर्षको कैद सजाय तोकिएको थियो। कैद भुक्तान गरेर रिहा हुन १० महिना मात्र बाँकी रहँदा अकस्मात उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

राणा शासनको अन्त्यका लागि स्थापना गरिएको नेपाल प्रजा परिषदका कार्यकर्ताहरु १९९७ को मध्यदेखि पक्राउ पर्न थालेका थिए। पक्राउ परेका दर्जनौँ कार्यकर्ताहरुको सुनुवाइका लागि सिंहदरबार भवनको दक्षिणतर्फ रहेको फुटबल मैदानमा ६ माघ (१९९७) मा ‘भारदारी सभा’ आयोजना गरिएको थियो।

सजाय पाउनेमध्येका एक लौह पुरुष गणेशमान सिंहले ‘मेरा कथाका पानाहरु (भाग १)’ मा उल्लेख गरेअनुसार, राणा शासनको इतिहासमा त्यसअघि त्यति ठूलो भारदारी बसेको थिएन।

जेलबाट सिंहदरबार लगिएका प्रजा परिषदका कार्यकर्ता हरिकृष्ण श्रेष्ठले प्रजा परिषदको स्वर्णजयन्ती स्मारिका–२०४३ मा त्यसदिन सिंहदरबारको दृश्य वर्णन गर्दै लेखेका छन्, ‘निजामती, आर्मी पुलिस–प्रमुख शासक वर्ग आदिको ठूलो भिडले मैदान खचाखच थियो। हामीलाई उभ्याइएको अघिल्तिर दुईचार पाल टाँगिएको थियो। एकमा श्री ३ महाराज जुद्ध शमशेर आसीन थिए, अर्काे नजिकको पाल कबजले सुसज्जित तर खाली थियो।’

प्रजा परिषदका कार्यकर्ताहरुलाई मृत्युदण्ड लगायतको सजाय सुनाउन आयोजना गरिएको त्यो कार्यक्रममा राजा त्रिभुवनलाई पनि उनका तीन छोराका साथ उपस्थित गराइएको थियो। राजा त्रिभुवन तीनै भाइ छोराहरुका साथ त्यहाँ उपस्थित थिए। शासकहरुले राजा त्रिभुवनमाथि समेत प्रजा परिषद्सँग मिलेर राणा शासनविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए।

श्रेष्ठका अनुसार भारदारी सभाको सुरुवात माइला पण्डित हेमराज पाण्डेले गरेका थिए। मनुस्मृतिका श्लोकहरु वाचन तथा तिनको अर्थ लगाउँदै पाण्डेले ‘ब्राम्हणहरुलाई सर्वश्व कपाल मुडी उल्टो मुखले गधामाथि चढाई देश निकाला गर्ने र अरु सबैको सर्वश्वहरण गरी प्राणदण्ड दिनुपर्ने’ बताए।

भारदारी सभा नेपाल प्रजा परिषदका कार्यकर्ताहरुलाई सजाय सुनाउन बोलाइएको थियो। तर,  प्रजा परिषदसँग कुनै सम्बन्ध नरहेका शुक्रराज शास्त्रीलाई समेत केन्द्रीय कारागारबाट निकालेर सिंहदरबारको मैदानमा उपस्थित गराइएको थियो।

पण्डित हेमराजपछि श्री ३ जुद्ध आफैँले बोल्न सुरु गरे। भारदारी सभाबाट सजाय सुनाइएमध्येका एक लौह पुरुष गणेशमान सिंहले ‘मेरा कथाका पानाहरु (भाग १)’ मा जुद्ध शमशेरले त्यो भारदारी सभामा के भनेका थिए, सो कुरा उल्लेख गरेका छन्ः

‘हेर, मेरा सामुन्ने उभ्याइएका तिनीहरुलाई हेर। ती को हुन् थाहा छ तिमीहरुलाई? यिनीहरु प्रजा परिषदका मानिसहरु हुन्। त्यो प्रजा परिषदको उद्देश्य के रे भने– हाम्रो शासन व्यवस्थालाई उल्ट्याएर आफ्नो हातमा शासन लिने। त्यो कसरी रे भने– हिन्दुस्तानका नीच जातका सोसलिस्टहरुसँग मिलेर, उनीहरुको सहयोग लिएर हाम्रो तख्ता पल्टाउने रे। यस्ता देशद्रोहीहरुलाई के गर्ने?’

सिंहका अनुसार त्यसपछि सभामा स्तब्धता छायो, कसैले केही बोलेनन्। त्यसपछि जुद्ध शमशेरले शुक्रराज शास्त्रीका विषयमा बोल्न सुरु गरे। उनले प्रजा परिषदका गतिविधिको उत्प्रेरक शास्त्री नै भएको आरोप लगाए।

‘यी सबको बिउ छर्ने चाहिँ उ त्यो शुक्रराज भन्ने ज्यापू हो। त्यसले कसरी बिउ छर्यो भन्ने थाहा छ तिमीहरुलाई?’, शास्त्रीमाथि दोषारोपण गर्दै श्री ३ जुद्धले भने, ‘हिन्दुस्तानमा गान्धी भन्ने एक जना छ नि, हो, त्यसैको लहैलहैमा लागेर, त्यसैसँग सल्लाह–साउती गरेर यहाँ त्यसको बिउ छर्ने त्यही ज्यापू हो।’

अन्य राजबन्दीहरुजस्तै शुक्रराज शास्त्रीलाई पनि हथकडी र नेलकडीले बाँधिएको थियो। शास्त्री यस्ता कुरासँग डराउने मानिस थिएनन्। एकोहोरो बोलिरहेका श्री ३ जुद्धको प्रतिवाद शास्त्रीले गर्न थाले।

‘यो के तमासा हो महाराज? राजकाजको मामलामा यतिका भाइभारदारहरुलाई जम्मा गरेर उनीहरुको रायसल्लाह प्रधानमन्त्रीले लिन लागेको नेपालको इतिहासमै यो पहिलो अवसर होला,’ शास्त्रीको भनाइ थियो, ‘त्यसमा भाइ–भारदारहरुको सल्लाह–राय के छ नबुझी, उनीहरुलाई बोल्नै नदिई पहिले नै हामीलाई देशद्रोही करार गर्नु तमासा भएन? संगीनको घेरामा राखेर एक्लै फतफताउनुभन्दा पहिले हामीलाई पनि बोल्न दिनुपर्छ।’

आफ्नो प्रतिवाद गरेपछि श्री ३ जुद्धले शास्त्रीलाई मानिसहरु लगाएर कुल्ची मार्ने चेतावनी दिए। तैपनि शास्त्री डराएनन्। उनले श्री ३ जुद्धलाई ‘आफूले दया होइन, न्याय चाहेको र न्यायका लागि मर्न समेत तयार रहेको’ जवाफ दिएका थिए।

‘त्यो बेला शुक्रराजजीले जे भने, त्योभन्दा कडा जवाफ मेरो गलासम्म नआएको होइन। तर अगाडि फाइँफूर्ति देखाएँ भने ज्यान जाने भएपछि मेरो सबै फूर्तिसुर्ति गयो,’ सिंहले भनेका छन्, ‘त्यहाँ साँच्चैको बहादुरी शुक्रराज शास्त्रीको थियो। त्यसैले त्यो दिगदिगान्तर भयो।’​

 

 

शहीद शुक्र उच्च मावि बागबजारमा रहेको शुक्रराज शास्त्रीको शालिक

हाँसी–हाँसी फाँसी
निडररुपमा आफ्नो प्रतिवाद गरेका शुक्रराज शास्त्रीलाई आफ्ना मानिसहरु लगाएर कुल्ची–कुल्ची मार्ने धम्की दिएपनि जुद्ध शमशेर आफैँले पनि त्यो भारदारी सभामा मृत्युदण्डको सजाय सुनाउन सकेनन्। खासमा राजा त्रिभुवनले अस्वीकार गरेपछि त्यहीँ सजाय सुनाउने योजना तुहियो।

श्री ३ जुद्ध त्यसदिन नागार्जुन दरबारबाट सिंहदरबार आइपुगेका थिए। सजाय सुनाउने कुरामा श्री ५ त्रिभुवनले अस्वीकार गरेपछि श्री ३ जुद्ध नागार्जुन फर्के।

साँझपख सिंहदरबार अघिल्तिर रहेको पोखरीको छेवैमा अर्काे सभा आयोजना गरियो। राजबन्दीहरुलाई राखेर पद्म शमशेर, मोहन शमशेरहरुको उपस्थितिमा शास्त्री र प्रजा परिषदका कार्यकर्ताहरुलाई मृत्युदण्ड लगायतको सजाय सुनाइएको थियो। तीन वर्षे कैद सजाय भुक्तान गरी १० महिनापछि रिहा गर्नुपर्ने शास्त्रीलाई समेत शासकहरुले मृत्युदण्डको सजाय सुनाए।

बन्दीहरुलाई सजाय सुनाउँदा नाम बोलाउनासाथ एक पाइला अगाडि बढ्ने र सजाय सुनाएपछि एक पाइला पछाडि सरी आफ्नो ठाउँमा उभिने निर्देशन दिइएको थियो।

मृत्युदण्ड लगायतको फैसला सुनाउनु पर्ने थियो, काजी रत्नमानले। तर, उनले सुनाउन सकेनन्। कारण थियो, सजाय पाउनेमा उनका आफ्नै नाति गणेशमान पनि थिए। सजाय सुनाउन रत्नमान डराएपछि त्यसको जिम्मा सुब्बा महेन्द्रबहादुर महतलाई दिइयो।

डा. गौतमले लेखेका छन्, ‘(मृत्युदण्डको सजाय सुनाइएपछि) प्रत्युत्तरमा शुक्रराज शास्त्री ‘ओम् शान्ति’ भनी एक पाइला अगाडि बढी उक्त सजायलाई स्वीकार गरेको दर्शाई पुनः पछाडि आफ्नो ठाउँमा फर्के।’

फाँसी (मृत्युदण्ड) को सजाय सुनाइएकाहरुमा शास्त्रीका अलावा नेपाल प्रजा परिषदका कार्यकर्ताहरु दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ थिए। टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय लगायतलाई जन्मकैद र अंश सर्वश्व (सर्वश्वहरण) को फैसला सुनाइएको थियो।

फाँसी, अंश सर्वस्व, जन्मकैद लगायतका सजाय पाएका राजबन्दीहरुलाई केन्द्रीय कारागार फर्काइयो। सजाय सुनाइएको चार दिनपछि मृत्युदण्डको सजाय पाएकाहरुलाई फाँसी दिन सुरु भयो।

चारमध्ये शास्त्रीलाई १० माघका दिन मृत्युदण्ड दिइएको थियो। फाँसीअघि सुन्धारास्थित कारागारबाट शास्त्री कसरी निस्केका थिए, ‘नेपालको प्रजातान्त्रिक इतिहास– सन्दर्भ’ मा उपाध्यायले विस्तृतमा उल्लेख गरेका छन्।

‘उक्त दिन शुक्रराज व्रत बसेका थिए, अपरान्ह उनका मातापिता र घरका अन्य व्यक्तिसँग राणाशाहीले अन्तिम भेट गरायो,’ उपाध्यायले लेखेका छन्, ‘(शुक्रराजले) मातापिता र परिवारलाई नश्वर शरीरको चिन्ता नगर्नाेस् भनी सम्झाईबुझाई जेलभित्र पसे। घरबाट ल्याएको दूधसँग खान रोटी तयार गरे।’

सजाय दिन लागिएका व्यक्तिलाई मृत्युदण्डअघि मन लागेको कुरा यथेष्ट खान दिने चलन थियो। तर, शुक्रराजको हकमा यो नियम लागू भएन। व्रत सकेर घरबाट ल्याइएका र आफूले तयार गरेका खानेकुरा खाने तयारी अवस्थामा रहेका शुक्रराजलाई केही खानै नदिई जेलबाट निकालियो। आफूलाई मार्न लगिँदैछ भन्ने शुक्रराजलाई थाहा थियो। यस्तो स्थितिमा पनि उनी कत्ति हताश थिएनन्।

उपाध्यायका भनाइमा जेलबाट बाहिर निकालिँदै गर्दा शास्त्रीले भनेका थिए, ‘सबै भाइलाई नमस्ते। मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाम अमर भयो।’

मृत्युदण्डभन्दा अघि शुक्रराजलाई भेट्न जानेमा उनकी बहिनी चन्द्रकान्तादेवी (मल्ल) पनि थिइन्। जेलमा अन्तिम भेटका लागि जाँदा दाजु शुक्रराजमा डर र चिन्ताको अंश कत्ति नरहेको चन्द्रकान्ताले २०३६ मा प्रकाशित ‘मेरो आत्मकथा’ मा उल्लेख गरेकी छन्।

‘सेन्ट्रल जेलको ढोकाबाट शास्त्रीजी छाती फुलाउँदै, हाँस्दै आउनु भयो,’ चन्द्रकान्ता लेख्छिन्, ‘त्यसबेला उनको अनुहार हेर्दा उनले ज्यान सजाय पाएकै होइन जस्तो लाग्यो, हाम्रो समेत मन चङ्गा होलाजस्तो लाग्यो।’

१० माघको राति ९ बजे जेलबाट निकालिएका शास्त्रीलाई माघको कठ्याङ्ग्रिने जाडोमा जेलबाहिरको चौकीमा २–३ घण्टा त्यत्तिकै राखियो। उनी १२ बजेसम्म चौकीमै रहे।

पचली (टेकु) मा रहेको खरीको रुखमा शास्त्रीलाई फाँसी दिने कामका लागि खटिएका थिए, श्री ३ जुद्धका नाति नरशमशेर। यसबाहेक जुद्धका छोरा हरि शमशेर, कर्णेल रंगविक्रम शाह, जेलर खड्कबहादुर सुनुवारपनि उपस्थित थिए।

शास्त्रीलाई जेलबाट मृत्युदण्डस्थलसम्म पुर्याउँदा लरी (ट्रक) प्रयोग गरिएको थियो। नरशमशेरका भनाइमा, बाटोभरि शुक्रराज शास्त्रीले ठुल्ठूलो स्वरमा संस्कृतका श्लोकहरु वाचन गरेका थिए। त्यसैक्रममा एउटा सिपाहीले ‘के कराएको?’ भनेर शास्त्रीलाई लहरीभित्रै हकार्यो। त्यसपछि ‘मर्ने बेलामा पनि पाठ गर्न नपाइने?’ भन्दै झन् ठूलो स्वरले पाठ गर्दै शुक्रराज पचली पुगे।

लरीबाट ओरालेर झुण्ड्याइनुअघि नरशमशेरले शास्त्रीको अन्तिम इच्छा सोधेका थिए।

‘शुक्रराज शास्त्रीले बागमतिमा स्नान गरेर मर्न पाऊँ भने’, नरशमशेरले आफ्नो आत्मकथामा भनेका छन्, ‘स्नान गरी धोतीपाटा फेरी ठूलो स्वरले नै पाठ गर्दै झुण्ड्याउने स्थानमा आइपुगे।’

मृत्युदण्डका क्रममा शास्त्रीले झुण्ड्याउन तयारी पारिएको डोरी आफैँले घाँटीमा कसे। उनलाई झुण्ड्याउन एक जना पोडेलाई तयार गरिएको थियो। झुण्ड्याइनुअघि शुक्रराजले पोडेलाई आफ्नो हातको घडी हस्तान्तरण गरे।

‘आफैँले डोरी आफ्नो घाँटीमा हालिसकेपछि झुण्ड्याउन तयार बसेको पोडेलाई आफ्नो नाडीमा बाँधेको घडी फुकाली दिएर ‘धेरै दुःख नहुने गरी एकैपटकमा झुण्ड्याइ देऊ है’ भनी (शुक्रराजले) आग्रह गरे’ नरशमशेरले आफ्नो आत्मकथामा भनेका छन्, ‘पोडेले पनि शुक्रराज उभिएको खटिया एकैचोटिमा झ्वाट्ट तानी दियो र उनी सहजै विनाकष्ट प्राणमुक्त भए।’​

 

 

शुक्रराज शास्त्रीका मातापिता लगायत परिवार

वीर पुत्र, उत्प्रेरक पिता 
१० माघको मध्यरातमा पचली (टेकु) मा मृत्युदण्ड दिइएका शुक्रराजको शव ११ माघ मध्यान्हसम्म जस्ताको तस्तै झुण्ड्याएरै राखियो। उपाध्यायले लेखेका छन्, ‘उनको लास त्यस दिन (११ माघ) भर झुण्ड्याएको अवस्थामा प्रदर्शन गरियो, मानिसहरु आई हेर्दै गहभरि आँसु लिँदै फर्के। मानिसको ओहोरदोहोर हामीले पनि जेलको झ्यालबाट देख्यौँ।’

विसं. २०२४ र २०२८ गरी स्नातक क्षेत्रबाट दुई–दुई पटक राष्ट्रिय पञ्चायतमा विजयी पूर्वमन्त्री स्व. प्रयागराजसिंह सुवाल पनि सहिद शास्त्रीको शव हेर्न जानेमध्येका एक थिए। सुवाल त्यहीँ रहेका बेला एक वृद्ध ६–७ जनाको समूहका साथ त्यो शव हेर्न पचली पुगेका थिए।

गतसाल निधन भएका सुवालले तीन वर्षअघिको एउटा भिडियो अन्तर्वार्तामा उल्लेख गरेअनुसार ती वृद्ध व्यक्ति आक्रोशले चुर थिए। ती वृद्धले झुण्डिएको शवतिर गर्वका साथ हेरे र, भने– ‘क्या बात् बेटा! बेटा हो तो तुम जैसा हो।’

झुण्ड्याइएका शुक्रराजको सहादतप्रति गर्व प्रकट गरेपछि वृद्धले शुक्रराजलाई झुण्ड्याइएको रुखलाई एक फन्को मारे। र, ‘रामराम’ भन्दै विस्तारै हिँड्दै बाटो लागे।

‘मैले पछि पो थाहा पाएँ– झुण्ड्याइएका ती व्यक्ति शुक्रराज शास्त्री रहेछन् र ‘बेटा हो तो तुम जैसा हो’ भन्ने वृद्ध शुक्रराजका पिता माधवराज जोशी रहेछन्,’ सुवालले भनेका छन्, ‘त्यसैले, झुण्ड्याइएका शुक्रराजलाई उनले बेटा भनेका रहेछन्।’

मृत्युदण्डको सजायलाई शुक्रराजले जसरी सहर्ष स्वीकार गरेका थिए, आफूले जन्माएको–हुर्काएको छोराले प्राणदण्ड पाउँदा वृद्ध माधवराजपनि विचलित थिएनन्। राणा शासकहरुसँग नझुकी छोराले प्राणदण्ड स्वीकार गरेकोमा पिता माधवराजले जेलमा पुगेर शुक्रराजलाई स्याबासी समेत दिएका थिए।

चन्द्रकान्ताका अनुसार, मृत्युदण्डको सजाय सुनाइएपछि जेलमा भेट्न जाँदा जब शुक्रराज छाती फुलाउँदै बाबु–आमालाई भेट्न आइपुगे, माफी नमागेकोमा पिताले छोरालाई स्याबासी दिए। र, मर्नुअघि वाचन गर्नु भनेर एउटा वेदमन्त्र हस्तान्तरण गरे।

चन्द्रकान्ताले लेखेकी छन्, ‘छोरालाई देख्नेबित्तिकै पिताजीले भन्नुभयोः शुक्र, तिमीलाई ज्यान सजाय दिने बेला यो वेदमन्त्र पढेर आफ्नो प्राण विसर्जन गर। स्याबास् बेटा।’

नरशमशेरले पाठ गरेको भनी उल्लेख गरेको संस्कृतको श्लोक सम्भवतः पिता माधवराजले दिएको त्यही वेदमन्त्र थियो।

मृत्युदण्डभन्दा दुई दिनअघि पितामातालगायत परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला केही मानिसहरुले शासकहरुसँग माफी मागेर ज्यान जोगाउन शुक्रराजलाई सुझाव दिएका थिए। तर, शुक्रराज माफी माग्न तयार थिएनन्।

‘मैले के अपराध गरेको छु र माफी माग्ने? यदि मैले दोष गरेको छु भने माफी माग्न लगाउने किन?’, चन्द्रकान्ताका भनाइमा, शुक्रराजले दिएको जवाफ थियो, ‘मैले दोष गरेको छु भने सजाय पाउनै पर्छ।’

‘माफी’ को अपेक्षा गर्नेहरुलाई शुक्रराजको जवाफ थियो, ‘गोलीले उडाउने मन छ भने गोलीले उडाइदेओस्। रुखमा लट्काउने मन छ भने रुखमा लट्काइदेओस्। तोपको मुहानमा राख्ने मन छ भने मुहानमै राखेर उडाओस्। माफी मागेर सदा अमर रहने भए म माफी माग्छु। तर, एकदिन मर्नु नै छ भने माफी किन माग्ने? सबैले मृत्युको निमन्त्रणा स्वीकार गर्नै पर्दछ, सबैलाई मृत्युको बाटो जानैपर्छ।’

झुण्ड्याइएपछि शुक्रराजको शव हेर्न जानेमा पिता माधवराजको साथ चन्द्रकान्ता पनि थिइन्। परिवारका अन्य सदस्य पनि थिए।​

चन्द्रकान्ता लेख्छिन्, ‘पिताजी बयासी वर्ष भइसक्नु भएको थियो, लठ्ठीको भरमा उहाँ रुखमुनि उभिनुभयो, सहिद भएका आफ्ना छोराको लासलाई प्रणाम गर्दै पिताजीले भन्नुभयोः स्यावास् बेटा। तुम धन्य हो। तुमने माँ–बापका ही नही देशका ही गौरव बढाया है। बेटा हो तो ऐसा ही होना।’

झुण्ड्याइएको खरीको रुखमुनि सहिद शुक्रराज सालिक बनेर उभिएका छन्। त्यो सहादतप्रति गर्व गर्दै ‘तुमने माँ–बापका ही नही देशका ही गौरव बढाया है, बेटा हो तो ऐसा ही होना’ पिता माधवराजले दिएको अभिव्यक्ति इतिहासका पानामा अक्षर बनेर जीवित छन्।

देश शुक्रराजजस्ता वीर र त्यो वीरताप्रति गर्व गर्ने माधवराजजस्ता पिताप्रति नतमस्तक छ।

 

शुक्रराज शास्त्रीका पिता माधवराज जोशी

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button