होमेन्द्र थापा
चैत २१ ग्ते
गन्धर्व जातिले जीवनयापनका निम्ति अँगाल्दै आएको परम्परागत सारङ्गी पेसा लोप हुँदै गएको छ । सारङ्गी पेसाबाट जीवनयापन हुन नसकेको, आधुनिक सञ्चार र मनोरञ्जनका माध्यम भित्रीएको र सारङ्गी बजाउदै गीत गाएर मागेर खाने पेशा सम्मानित नभएको भन्दै युवा पुस्ताहरुले चासो नदिदा परम्परा देखी चली आएको सारङ्गी पेसा लोप हुदै गएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ४ मा गन्धर्व बस्ति रहेको छ । बस्तिमा १ सय ५ घरधुरी मध्ये ६५ घर गन्धर्वहरुको बसोबास छ । परम्परा देखी सारङ्गी पेसामा आश्रित रहेको गन्धर्वहरु पछिल्लो समय पेसा प्रति उदासिन रहेका छन । बस्तिका ५÷६ जनाले मात्र कहीले काँही सारङ्गी बजाउने गर्छन । आधुनिक सञ्चार र मनोरञ्जनका माध्यम भित्रीएको र गन्धर्वहरु भन्दा अन्य जातिका कलाकारहरु अगाडी आईसकेको कारण पनि आफुहरुको पेसा धरापमा परेको गन्धर्वहरुको भनाई छ ।
हिजोका दिनहरुमा गाउँघरमा गाईने आई सारंगी बजाएर गीत गाएर सुनाउदा वरापरा छपक्कै मानिसहरु बसी गीत सुन्ने, मनोरञ्जन लिने गर्दथे । गितबाटै कहाँ के घटना घटेको रहेछ भन्ने सम्मको सुचना वा जानकारी लिने गर्दथे । तर आजभोली सारङ्गी बजाएर गीत गाउदा पनि कसैले सुन्न समेत नचाहाने हुँदा पेसाबाट जीवन चलाउन गाह्रो भएको राम बहादुर गन्धर्वको भनाई छ ।
खेती किसानी गर्न जग्गा जमिन छैन । जागीर गर्न लेखपढ छैन । सारङ्गी पेसा सम्मानीत नभएको भन्दै युवा पुस्ताहरु बैदेशीक रोजगारी तर्फ जाने गरेका छन् । गन्धर्वहरुको परम्परागत पेशा धरापमा परेको हुदा राज्यले गन्दर्भहरुको सिपलाई संस्थागत हिसाबले अगाडी बनाउनु पर्ने गन्धर्वहरुको माग छ ।
नेपाल गन्धर्व समाज बर्दियाको अध्यक्ष दिलिप गन्र्धवका अनुसार जिल्लामा करिब १ सय ५० घरधुरी गन्धर्वहरु रहेका छन् । सारङ्गी राष्ट्रिय बाजा हो । जिल्लामा ठुलै संख्यामा गन्धर्वहरुको बसोबास रहेता पनि सारङ्गी पेसा लोप हुँदै गएको छ ।

Facebook Comments Box