• रानी एलिजाबेथ द्वितीय : कर्तव्यको मार्गमा समर्पणको लामो यात्रा

    sharethis sharing button

    ब्रिटेनकी महारानी एलिजाबेथको करिब सात दशक लामो शासनकाल निकै उथलपुथलयुक्त रह्यो । उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन् । महारानी एलिजाबेथलाई आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ संकल्पका लागि सधैं सम्झिनेछन् । उनले आफ्नो सम्पूर्ण जीवन आफ्नो ताज र जनताको नाममा समर्पण गरेकी थिइन्  । हरेक जिम्मेवारी उनी निपूण तरिकाले निभाइन् ।


    उनको ७० वर्षको शासनकालमा इङ्ल्यान्ड मात्रै होइन, सारा विश्व ठूलो उथलपुथलको अवधिबाट गुज्रियो । कहिले आर्थिक चुनौती, कहिले राजनीतिक संकट । तर यस उथलपुथलमा, जनतामा विश्वास जगाउने एउटा मात्र नाम थियो, रानी एलिजाबेथ ।


    सारा विश्वमा बेलायतको हैसियत घट्दै गएको बेला एलिजाबेथ बेलायतकी महारानी बनेकी थिइन् । समाजमा क्रान्तिकारी परिवर्तनहरू भइरहेका छन् । बेलायतमा धेरै मानिसहरूले राजतन्त्रको भूमिकामाथि प्रश्न उठाइरहेका थिए । तर उनले यी चुनौतीहरूको दृढतापूर्वक सामना गरिन् । उनले आफ्नो जिम्मेवारी निकै बुद्धिमानीपूर्वक पूरा गरिन् र बेलायती राजपरिवारमा जनताको विश्वास कायम राख्न ठूलो भूमिका निभाइन् ।



    एलिजाबेथ एक दिन बेलायतकी महारानी बन्छिन् भन्ने कसैले सोचेका थिएनन् । उनको जन्म २१ अप्रिल १९२६ मा बर्कलेमा भएको थियो । एलिजाबेथ, त्यतिबेलाको ब्रिटेनका राजा जर्ज पञ्चमका दोस्रो छोरा, ड्युक आफ योर्क, अल्बर्टकी जेठी छोरी हुन् ।

    एलिजाबेथ कहिल्यै विद्यालय गइनन् । उनको र कान्छी बहिनी मार्गरेटको शिक्षा दरबारमा नै भएको थियो । एलिजाबेथ आफ्ना बुबा र हजुरबुबा दुबैका धेरै प्रिय थिइन् । ६ वर्षको उमेरमा घोडा चढ्न सिक्दै गर्दा, उनले आफ्ना उस्तादलाई आफू एक गाउँले केटी बन्न र धेरै नै घोडा र कुकुर पाल्न चाहेको बताएकी थिइन् ।

    बाल्यकालदेखि नै उनी असाध्यै व्यवहारिक थिइन् । पूर्व बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल पनि उनीबाट धेरै प्रभावित थिए । चर्चिलले महारानी एलिजाबेथ बारे बोल्दै यति कम उमेरमा पनि उनी निकै प्रभावशाली देखिन्छिन् भनेका थिए ।

    कहिल्यै स्कूल नगए तापनि एलिजाबेथले धेरै भाषाहरू सिकिन् । उनले बेलायतको संवैधानिक इतिहास पनि राम्ररी अध्ययन गरिन् ।  एलिजाबेथ र उनकी बहिनी मार्गरेटलाई उनीहरूको उमेरका केटीहरूसँग भेटघाट गराउनका लागि बकिंघम प्यालेसको नाममा गर्ल्स गाइड कम्पनी बनाइएको थियो ।

    सन् १९३६ मा बेलायतका राजा जर्ज पाँचौंको मृत्युपछि उनका जेठा छोरा डेभिड, एडवर्ड आठौंको नामले सिंहासनमा बसे तर एडवर्डले अमेरिकी महिला वालिस सिम्पसनलाई आफ्नो जीवनसाथी रोजे । सिम्पसनको दुई पटक सम्बन्धविच्छेद भएको थियो । उनको धार्मिक झुकाव बारे पनि बेलायतमा धेरै विरोध भएको थियो । यस कारण एडवर्ड आठौंले सिंहासन त्यागे ।

    यसपछि, एलिजाबेथका पिता, ड्यूक अफ योर्क, राजा जर्ज छैठौंको नाममा सिंहासनमा बसे । एलिजाबेथका बुबा राजा बन्न चाहँदैनथे ।  पिता सिंहासनमा बसेपछि एलिजाबेथलाई आफ्नो आउँदो जिम्मेवारी महसुस हुन थालेको थियो । पछि उनले यो अनुभवलाई निकै राम्रो बताइन् ।

    त्यतिबेला हिटलरको शक्ति तीव्र गतिमा बढिरहेको थियो । युरोपमा बढ्दो द्वन्द्वको बीच, राजा जर्ज छैठौं आफ्नो परिवारसँग देश भ्रमणमा निस्किए । एलिजाबेथले आफ्नो बुबाको यस भ्रमणबाट धेरै कुरा सिकिन् ।

    सन् १९३९ मा, १३ वर्षको उमेरमा, एलिजाबेथ आफ्नो बुबा र आमासँग डार्टमुथको रोयल नेभल कलेज गइन् । यहाँ उनले आफ्ना भावी पति, ग्रीसका राजकुमार फिलिपलाई भेटिन् । तर, यी दुईबीचको यो पहिलो भेट भने थिएन । तर जब दुई जना नेभल कलेजमा भेटे, एलिजाबेथले प्रिन्स फिलिपमा चासो लिन थालिन् ।

    बिदाको समयमा राजकुमार फिलिप पनि आफ्ना शाही आफन्तहरूलाई भेट्न लन्डन पुगेका थिए । सन् १९४४ आइपुग्दा सम्म, एलिजाबेथ राजकुमार फिलिपको प्रेममा परिसकेकी थिइन् । उनीहरुले एकअर्कालाई चिठी लेख्न थालिसकेका थिए । एलिजाबेथले राजकुमार फिलिपको तस्बिर आफ्नो कोठामा राख्न थालिसकेकी थिइन् ।

    दोस्रो विश्वयुद्धको अन्त्यमा, राजकुमारी एलिजाबेथ सहायक क्षेत्रीय सेवामा सामेल भइन् । त्यहाँ उनले कार चलाउन र त्यसको मर्मत गर्न सिकिन् ।

    ८ मे, १९४५ मा, राजकुमारी एलिजाबेथले शाही परिवारसँग मिलेर विश्व युद्ध समाप्तिको उत्सव मनाइन् । यसमा ब्रिटेनको जीत भएको थियो ।

    पछि उनले लेखेकी थिइन्, ‘हामीले आफ्ना अभिभावकसँग आम जनतामाझ जान अनुमति मागेका थियौँ । ताकि हामी जनताको खुशी महसुस गर्न सकौं । हामीलाई कसैले चिन्ने होे कि भन्ने डर थियो । त्यतिबेला लण्डनको मलमा यति धेरै भीड थियो कि एउटा रेल आयो र हामीलाई पनि लिएर गयो । ’

    युद्ध पछि, उनी राजकुमार फिलिपसँग विवाह गर्न चाहन्थिन् । तर विभिन्न बाधा आए । एलिजाबेथका बुबा राजा जर्जले आफ्नी प्यारी छोरीलाई टाढा पठाउन चाहेनन् । यस्तै, प्रिन्स फिलिप अन्य देशको हुनु पनि आपत्तिको कारण थियो ।

    तर, सबै बाधा हटे । २० नोभेम्बर १९४७ मा, दुबैले लन्डनको शाही क्याथेड्रल वेस्टमिन्स्टर एबेमा विवाह गरे ।

    शाही परिवारमा विवाह पछि, प्रिन्स फिलिपले एडिनबर्गको ड्यूकको उपाधि प्राप्त गरे तर शाही नौसेनामा आफ्नो जागिर छोडेनन् । उनीहरुले बिहेपछि सामान्य जोडीजस्तै केही समय माल्टामा सँगै बिताए ।

    प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथको पहिलो सन्तान, प्रिन्स चार्ल्सको जन्म १९४८ मा भएको थियो । दुई वर्षपछि छोरी एन पनि जन्मिइन् । यसैबीच, एलिजाबेथका बुबा राजा जर्जको अवस्था बिग्रँदै गइरहेको थियो । उनलाई फोक्सोको क्यान्सर थियो ।

    जनवरी १९५२ मा, एलिजाबेथ र उनको पति विदेश यात्रामा निस्किए । अस्वस्थताका बावजुद राजा जर्ज, छोरी र ज्वाईंलाई छोड्न विमानस्थलसम्म पुगे । यो  बुबा र छोरीबीच अन्तिम भेट थियो ।

    एलिजाबेथ र प्रिन्स फिलिप केन्यामा थिए जब उनीहरूले आफ्नो बुबाको मृत्युको बारेमा थाहा पाए । उनी तुरुन्तै बेलायत फर्किइन् । उनलाई तत्काल महारानी घोषित गरियो ।

    त्यो समयको स्मरण गर्दै महारानी एलिजाबेथले लेखेकी छिन्, ‘मेरो बुवाको मृत्यु निकै चाँडै भयो । उहाँसँग बस्दा मैले शाही कर्तव्यहरू पनि सिक्ने मौका पाइनँ । त्यसैले अचानक पाएको यो जिम्मेवारीलाई सही तरिकाले निभाउने चुनौती पनि मेरो अगाडि थियो ।’

    राज्याभिषेक

    जून १९५३ मा एलिजाबेथको राज्याभिषेकलाई पूरा विश्वभरी टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो । धेरै मानिसहरुले पहिलो पटक टिभीमा कुनै कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेका थिए । त्यतिबेला बेलायत दोस्रो विश्वयुद्ध पछि कटौतीको अवधिबाट गुजिरहेको थियो । प्रधानमन्त्री विन्स्टन चर्चिललाई यो कार्यक्रम पैसाको बर्बादी मात्र जस्तो लागेको थियो । उनी प्रत्यक्ष प्रसारणविरुद्ध थिए । तर ब्रिटेनका सर्वसाधारणले नयाँ महारानीलाई हात–हातमा लिएका थिए ।

    विश्वयुद्धपछि बेलायतको हैसियत निकै कम भएको थियो । उनको साम्राज्य संकुचित भएको थियो । भारतलगायत धेरै देश बेलायती शासनबाट मुक्त भएका थिए । यस्तो अवस्थामा बेलायतको गौरव फिर्ता ल्याउन महारानी एलिजाबेथले कमनवेल्थ देशको भ्रमण गर्ने निर्णय गरिन् । उनी अष्ट्रेलिया र न्युजिल्याण्ड भ्रमण गर्ने बेलायतकी पहिलो महारानी थिइन् । उनलाई अष्ट्रेलियाका दुई तिहाइ नागरिकले निकै नजिकबाट हेरेको बताइन्छ ।

    अन्य देशहरू बेलायतबाट स्वतन्त्र हुँदै जाँदा, राष्ट्रमण्डलमा महारानीको लगाव बढ्दै गयो । कतिपयले बेलायती कमनवेल्थलाई युरोपेली आर्थिक समुदायको विरुद्धमा खडा गर्न सकिन्छ भन्ने पनि सोचेका थिए ।

    व्यक्तिगत आक्रमण

    तर, महारानीको सबै प्रयासको बावजुद, बेलायतको शक्तिको पतन रोक्न सकेन । सन् १९५६ को स्वेज नहर संकटले बेलायतको सम्मानमा थप ठेस् पुर्यायो । जब इजिप्टले स्वेज नहरलाई राष्ट्रियकरण गर्यो तब त्यसलाई रोक्न पठाइएका ब्रिटिश सेनाहरु यत्तिकै फिर्ता हुनु पर्यो । बेलायतका प्रधानमन्त्री एन्थनी इडेनले यसका लागि राजीनामा दिनुपरेको थियो ।

    प्रधानमन्त्रीको राजीनामाका कारण महारानी एलिजाबेथ राजनीतिक संकटमा फसिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्ने प्रक्रिया टुंगिएको थिएन । तर प्रधानमन्त्री बिना देश चलाउन सकिँदैनथ्यो । त्यसैले रानीले ह्यारोल्ड म्याकमिलनलाई नयाँ सरकार गठन गर्न आमन्त्रित गरिन् ।

    यस अवधिमा रानीले व्यक्तिगत आक्रमणको सामना गर्नुपरेको थियो । लर्ड अल्ट्रिन्चमले उनीमाथि धेरै आरोप लगाए । लिखित प्रतिलिपि बिना कुनै भाषण दिन नसक्ने उनको आरोप थियो ।

    ‘राजतन्त्र’ देखि ‘शाही परिवार’ सम्म

    महारानी विरुद्धको यस्तो बयान पछि लर्ड अल्ट्रिन्चमलाई पनि आक्रमण गरिएको थियो । तर यो घटनाबाट एउटा कुरा प्रस्ट भयो कि बेलायती राजपरिवारको बारेमा जनताको धारणा परिवर्तन हुँदैछ । अब मानिसहरूले प्रश्न गर्न थालेका थिए ।

    आफ्नो पतिको सल्लाहमा, महारानी एलिजाबेथले आफूलाई नयाँ समय अनुसार ढाल्न सुरु गरिन् । शाही दरबारका धेरै प्रथाहरू खारेज गरियो । रानीले राजतन्त्रको सट्टा शाही परिवार शब्दको प्रयोगमा जोड दिन सुरु गरिन् ।

    सन् १९६३ मा ह्यारोल्ड म्याकमिलनले प्रधानमन्त्रीको पद छोडेपछि  महारानीले अर्को राजनीतिक चुनौतीको सामना गर्नु पर्यो । त्यतिन्जेलसम्म पनि कन्जरभेटिभ पार्टीमा नेता चयन गर्ने नयाँ प्रणाली तय भइसकेको थिएन । यस्तो अवस्थामा, म्याकमिलनको सल्लाहमा, रानीले अर्ल अफ होमलाई नयाँ सरकार गठन गर्न बोलाइन् ।

    हुन त बेलायतकी महारानीको रूपमा, उनीसँग धेरै संवैधानिक अधिकार थिएन । तर उनी सूचना र सल्लाहको अधिकारको बारेमा धेरै सचेत थिइन् । तर उनले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास कहिल्यै गरिनन् ।

    यद्यपि, त्यसपछि रानीले त्यस्तो समस्याको सामना गर्नु परेन ।

    ६० को दशकको उत्तरार्धमा, शाही परिवारले आम जनतासँग नजिक हुने निर्णय गरेका थिए ।

    बीबीसीले शाही परिवारमाथि एउटा डकुमेन्ट्री बनाएको थियो जसमा शाही परिवारका सदस्यहरूलाई पहिलो पटक साधारण मानिसजस्तै काम गरेको देखाइएको थियो । महारानीका पति प्रिन्स फिलिप काम गरिरहेको देखिएका थिए । शाही परिवारका अन्य सदस्यहरूले आफ्नो क्रिसमस ट्री सजाएको देखाइएको थियो । परिवारका पुरुषहरूले आफ्ना छोराछोरीलाई घुमाइरहेको देखाइएको थियो ।

    यो डकुमेन्ट्रीमा धेरैले आपत्ति जनाएका छन् । राजपरिवार सर्वसाधारणजस्तै देखिन थालेको उनीहरुको भनाई थियो ।

    केहीका आपत्ति बाहेक यो डकुमेन्ट्रीलाई आम जनताले निकै प्रशंसा गरे । सन् १९७७ मा, जब महारानी को राज्याभिषेक को पच्चीसौं वार्षिकोत्सव मनाइयो तब मानिसहरूले धुमधामका साथ उत्सव मनाए ।

    दुई वर्षपछि, मार्गरेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री भइन् । यद्यपि, महारानी एलिजाबेथसँग उनको सम्बन्ध सामान्य थिएन । महारानीलाई थ्याचरको व्यवहार मन परेन ।

    कारण यो हो कि महारानी ब्रिटिश राष्ट्रमण्डल र विशेष गरी पुरानो अफ्रिकी उपनिवेशहरूसँग सम्बन्ध सुधार गर्न धेरै चासो राख्थिन्, तर अफ्रिकी देशहरूप्रति मार्गरेट थ्याचरको दृष्टिकोण रानीलाई मन परेन ।

    आलोचना र समस्या

    एकपछि अर्को गरी वर्षौंसम्म एलिजाबेथले महारानीको रूपमा आफ्नो सम्पूर्ण जिम्मेवारीहरू निभाइरहिन् । सन् १९९१ को खाडी युद्धपछि उनी अमेरिकाको भ्रमणमा गइन् । त्यहाँ उनी अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने पहिलो बेलायती महारानी बनिन् । अमेरिकी राष्ट्रपति जर्ज बुसले उनको धेरै प्रशंसा गरेका थिए ।

    तर नब्बेको दशक शाही परिवारको लागि धेरै खराब थियो । महारानी एलिजाबेथका अर्का छोरा ड्युक अफ योर्क र उनकी श्रीमती सारा अलग्गिए । यसैगरी उनकी छोरी राजकुमारी ऐनको पनि उनका श्रीमान् मार्क फिलिप्ससँग सम्बन्धविच्छेद भयो ।

    पछि, प्रिन्स चार्ल्स र राजकुमारी डायना बीचको तीतो सम्बन्धको वास्तविकता पनि सार्वजनिक भयो । पछि दुवै अलग भए ।

    ९० को दशकमा नै शाही दरबार विन्डसर दरबारमा भीषण आगलागी भएको थियो । यसपछि बेलायतमा दरबार मर्मतको खर्च कसले बेहोर्ने भन्ने बहस चलेको थियो । मर्मतको काम शाही खर्च वा बेलायती जनताको पैसामा, कसरी हुन्ने भन्ने विषयमा  ब्रिटेनका जनता दुई भागमा विभाजित देखिएका थिए ।

    महारानीले यसको हल पनि निकालिन् । बकिङ्घम प्यालेस दरबारको मर्मत खर्चको लागि यसलाई सर्वसाधारणका लागि खुल्ला गरियो । यस्तै महारानी र उनका युवराज प्रिन्स अफ वेल्स, दुबैले आफ्नो आम्दानीको कर तिर्ने पनि राज परिवारले घोषणा गर्यो ।

    सन् १९९२ लाई महारानी एलिजाबेथले आफ्नो जीवनको सबैभन्दा खराब वर्ष भनिन् । उनले एक भाषणमा कुनै पनि संस्था वा मानिस जवाफदेहिताबाट भाग्न नहुने बताइन् । बेलायतको राजपरिवार पनि कुनै पनि प्रकारको अनुसन्धानका लागि तयार भएको उनले स्पष्ट पारिन् ।

    खैर, खराब परिस्थितिको बीचमा सुखद समाचार आयो । दक्षिण अफ्रिकाले रंगभेद अन्त्यको घोषणा गरेको थियो । रानी सधैं राष्ट्रमंडल देशहरूसँग सम्बन्धमा चासो राख्थिन्, त्यसैले उनले रंगभेदको अन्त्य पछि सन् १९९६ मा दक्षिण अफ्रिकाको भ्रमण गरिन् ।

    वेल्सकी राजकुमारी डायनाको निधन

    घरेलु मोर्चामा, रानीले शाही परिवारको सम्मान कायम राख्ने चुनौतीको सामना गर्नुपरेको थियो । तर राजकुमारी डायना र प्रिन्स चार्ल्स बीचको उथलपुथल सम्बन्ध र बिछोडको कारण शाही परिवारको प्रतिष्ठा खस्किएको थियो । सन् १९९७ मा राजकुमारी डायनाको मृत्यु पछि, जनता पूर्ण रूपमा शाही परिवारको विरुद्धमा परे । व्यक्तिगत रूपमा रानी विरुद्ध धेरै आरोपहरू लागेका थिए ।

    पेरिसमा भएको दुर्घटनामा राजकुमारी डायनाको मृत्यु भएपछि डायनालाई श्रद्धाञ्जली दिन हजारौं मानिस आफ्नो घरबाहिर निस्केका थिए । केही समय पछि, उनले राजकुमारी डायनाको मृत्युमा देशको नाममा सन्देश दिइन् । उनले देशलाई बचन दिँदै शाही परिवार आफूलाई परिवर्तन गर्दै समयको हिसाबले चल्ने कोसिसस गर्ने बताइन् ।

    सन् २००२ मा, उनको शासनको पचासौं वर्षगाँठमा, रानीले व्यक्तिगत आघात भोगिन् । उनकी आमा, राजकुमारी मार्गरेटको मृत्यु भएको थियो । यद्यपि, उनको राज्याभिषेकको पचासौं वार्षिकोत्सव धूमधामका साथ मनाइयो ।

    लन्डनको द मलमा दश लाखभन्दा बढी मानिसहरु उत्सव मनाउन भेला भएका थिए ।

    जब रानी अप्रिल २००६ मा उनको ८० औं जन्मदिनमा जनतालाई भेट्न बाहिर गइन्, विन्डसर दरबारको अगाडि अत्यधिक भीड जम्मा भएको थियो ।

    सन् २००७ मा, रानी एलिजाबेथ र राजकुमार फिलिपले आफ्नो ६० औं विवाह वार्षिकोत्सव मनाए । यस अवसरमा वेस्टमिन्स्टर एबेको रोयल चर्चमा विशेष प्रार्थना गरिएको थियो । जसमा दुई हजार मानिस सहभागी थिए ।

    अप्रिल २०११ मा, शाही परिवारमा अर्को खुसीको अवसर आयो । जब रानीका नाती प्रिन्स विलियमले केट मिडलटनसँग विवाह गरे । सारा देशले यो शाही विवाहको उत्सव मनायो ।

    मे २०११ मा, रानी एलिजाबेथ आयरल्याण्ड भ्रमण गर्ने पहिलो ब्रिटिश महारानी बनिन् । उनले आयरल्याण्डसँगको ऐतिहासिक तनाबपूर्ण सम्बन्ध सुधार्न पहल गरिन् । रानीले आयरिश जनतामाथि बेलायतको पुरानो दमनप्रति खेद पनि व्यक्त गरिन् ।

    सन् २०१२ मा उत्तरी आयरल्याण्डको भ्रमणमा, उनले ब्रिटिश सरकार विरुद्ध विद्रोही संगठन, आयरिश रिपब्लिकन आर्मीका नेता मार्टिन म्याकगिनससँग हात मिलाएर नयाँ सन्देश दिने प्रयास गरिन् । सोही आयरिश रिपब्लिक आर्मीले कुनै बेला महारानीका काकाका भाइ लर्ड माउन्टबेटनको हत्या गरेको थियो ।

    महारानीको राज्याभिषेकको ६०औँ वार्षिकोत्सव पनि त्यो वर्ष धुमधामका साथ मनाइएको थियो ।

    सन् २०१४ मा रानीका लागि राजनीतिक रूपमा कठिन समय पनि आयो । स्कटल्याण्डमा बेलायतबाट अलग हुने जनमत संग्रह भएको थियो । रानीले सधैं बेलायतको एकतालाई समर्थन गरेकी थिइन् । उनी जनमत संग्रहद्वारा स्कटल्याण्ड अलग होस् भन्ने चाहन्नथिन् ।

    यसअघि, रानीले बालमोरल महल बाहिरका मानिसहरूलाई बुद्धिमानी निर्णय लिन अपील गरिन् । सायद जनताले उनको मनको कुरा सुने र स्कटल्याण्डको अलगावको प्रस्तावलाई आवश्यक समर्थन प्राप्त भएन ।

    जब सर्वेक्षणको तथ्याङ्क बाहिर आयो, रानीले राहतको सास फेरिन् । सन् १९९७ मा संसदमा दिएको भाषणमा उनले बेलायतको एकता कायम राख्ने बाचा गरेकी थिइन् । त्यो जिम्मेवारी पूरा गर्न महारानी सफल भइन् ।

    यस अवसरमा महारानीले भनेकी थिइन्, ‘अब हामी अगाडि बढिरहेका छौं, हामीले यो याद गर्नुपर्छ कि धेरैले आफ्नो फरक मत व्यक्त गरेका छन् । तर, यी सबैमा एउटा कुरा छ जसमा सबै सहमत हुनेछन् । यो हो कि हामी सबै स्कटल्याण्डलाई धेरै माया गर्छौं ।’

    ९ सेप्टेम्बर २०१५ मा, उनी रानी भिक्टोरिया भन्दा पनि लामो समयसम्म शासन गर्ने रानी बनिन् । तर, महारानी एलिजाबेथले यसमा खासै खुसी व्यक्त गरिनन् ।

    उनका श्रीमान् प्रिन्स फिलिप लामो समयसम्म बिरामी भएपछि ९ अप्रिल २०२१ मा मृत्यु भयो ।

    महारानी एलिजाबेथको शासनकालको अन्त्यमा, शाही परिवारको हैसियत सन् १९५२ मा उनको राज्याभिषेकको समयमा थियो जस्तो उच्च छैन । तर सामान्य बेलायती नागरिकहरु माझ उनी राजपरिवारको हैसियत र स्नेह कायम राख्न सफल भइन् ।

    उनको राज्याभिषेकको पच्चीसौं वार्षिकोत्सवमा, रानी एलिजाबेथले तीस वर्ष अघि गरेको शपथ सम्झेकी थिइन् । त्यो बचन उनले दक्षिण अफ्रिकाको भ्रमणमा आफ्नो जनतासँग गरेकी थिइन् । उनले

    ‘म २१ वर्षको हुँदा जनताको सेवामा समर्पित भएँ । त्यतिबेला मैले यो जिम्मेवारी पूरा गर्न भगवानसँग सहयोग मागेको थिएँ । ती मेरा बाल्यकालका दिन थिए । जब मलाई सहि र गलत बिचको फरक थाहा थिएन । तर मैले त्यो बेला गरेको बाचामा। म अझै अडिग छु । त्यतिबेलाको एक शब्दबाट पनि म पछि हटेको छैन ।’

    बीबीसी

  • किन बुझ्ने बाँदर ?

    वन्यजन्तु संरक्षणमा मानिस र जन्तुबीचको द्वन्द्व व्यवस्थापन विश्वकै चुनौती बनिरहेको छ। नेपालमा पनि बाँदर, बँदेल, दुम्सीका साथै लोपोन्मुख वन्यजन्तु हात्ती, गैंडाले बाली नोक्सानी गरिदिएका समाचार आइरहन्छन्।

    राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक-सांस्कृतिक परिवेश कृषिप्रधान भएको मुलुकमा वन्यजन्तुकै कारण खेती छाड्नुपरेका प्रसङ्गबाट हामी यसले पारेको सामाजिक/आर्थिक प्रभावकोे आकलन गर्न सक्छौं। तर, आवश्यक तथ्याङ्क र विज्ञानसम्मत बुझाइ नहुँदा सम्बद्ध सरकारी निकाय तथा वन्यजन्तु संरक्षणमा लागिपरेका संस्था द्वन्द्व घटाउने ठोस कार्ययोजना ल्याउन सकिरहेका छैनन्।

    नेपालमा तीन प्रजातिका लंगुर बाँदर र दुई प्रजातिका मकाका बाँदर पाइन्छन्। पशुपति, स्वयम्भू लगायत क्षेत्रमा देखिने र प्रायः बालीनाली बिगार्ने भनिएको बाँदर ‘मकाका मुलाटा’ हो। नेपालमा यो ‘रातो बाँदर’ नामले चिनिन्छ। मुख्यतः मानिससँगको द्वन्द्वकै कारण यो प्रजाति कृषि तथा समग्र जैविक विविधता संरक्षणमा चुनौतीका रूपमा देखिँदै छ।

    दक्षिणएशियाका धेरै मुलुकमा पाइने यो बाँदर दुईदेखि दुई सय ५० वटासम्मको समूहमा बस्छ। यसको वासस्थान वनजङ्गल तथा मानव बस्ती छेउछाउ हो। मुख्य गरी घाँसपात, फलफूल खाने यो बाँदर बस्ती पसेर बालीनालीसँगै मानिसले पकाएका तथा तयारी खानेकुरा समेत खाइदिने गर्छ। नेपालमा यो बाँदरको सङ्ख्या कति छ, तथ्याङ्क छैन।

    नेपालको कुल क्षेत्रफलको ४४ प्रतिशत भूभाग रातो बाँदरलाई वासस्थान बनाउन अनुकूल छ। त्यसमा आठ प्रतिशत निकुञ्ज लगायत संरक्षित क्षेत्र र बाँकी सामुदायिक वन, मानिसले आवादी गरेको क्षेत्र पर्छ। एक अध्ययनमा बाँदरको वासस्थानमा मानवीय गतिविधि बढ्नुका साथै वनको खण्डीकरण द्वन्द्वको कारण देखिएको थियो। यसरी हेर्दा बाँदरलाई मिचाहा भन्ने हामी आफैं मिचाहा देखिन्छौं।

    नौ दशकमा हामीले देशको लगभग ५० प्रतिशत प्राकृतिक वन मासेर त्यहाँ आवादी गर्‍यौं। सामुदायिक वन कार्यक्रम लागू भएदेखि वन क्षेत्र केही बढे पनि वन्यजन्तु अनुकूल तथा सन्तुलित वनको अवधारणा अँगालिएको छैन। वैदेशिक रोजगारीका लागि युवाशक्ति बाहिरिने तथा बसाइँ सरेर शहर पस्ने क्रमले पनि जङ्गलको आयतन र घनत्व बढाएको छ।

    असन्तुलित वन, संरक्षित क्षेत्र लगायत प्राकृतिक वनको खण्डीकरण, शहरीकरण, बसाइँसराइ र बढ्दो जनसङ्ख्याका कारणले पनि मानिस र बाँदरबीच द्वन्द्व बढिरहेको छ। विशिष्ट वासस्थान आवश्यक नपर्ने तथा परिस्थिति अनुसार बानीव्यहोरा र खानपान बदल्न सक्ने रातो बाँदरको स्वभाव पनि द्वन्द्व बढाउने कारक हो।

    सामाजिक, प्राकृतिक र मानवीय कारणले सिर्जित यस्तो द्वन्द्वको व्यवस्थापन ‘बाँदर धपाउन बनाइएको बन्दूक पड्काए’ जस्तो सजिलो छैन। यसका लागि बहुआयामिक ढङ्गबाट काम गर्नुपर्छ।

    काभ्रेको पनौतीमा बालीनाली खाने बाँदरको समूहमा हालै गरिएको अध्ययनमा बाँदरले प्रति घरधुरी खेतीपातीबाट हुने उब्जनीको ४.२ प्रतिशतका दरले नोक्सानी गरेको पाइएको थियो। तर, धेरै खेतबारी हुने तथा जङ्गल नजिकै बारी हुनेहरूको नोक्सानी १० प्रतिशतभन्दा बढी थियो।

    यसरी हेर्दा द्वन्द्व न्यूनीकरणका कार्ययोजना बनाउँदा विपन्न किसानलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। द्वन्द्व व्यवस्थापनको कार्ययोजना बनाउँदा आर्थिक क्षतिसँग सम्बद्ध विवरण आवश्यक हुने र स्थान अनुसार क्षतिको परिमाण पनि फरक पर्ने भएकाले यस्ता अध्ययन थप भूभाग र बाँदरका समूहमा विस्तार गर्नुपर्छ।

    पनौतीमा बाँदरले खाने सामग्रीहरूको एक वर्षको तथ्याङ्क सङ्कलनमा के पाइयो भने बाँदरको समूहले ४५ प्रतिशत खाना वनबाट र बाँकी ५५ प्रतिशत घरमा राखिएका तयारी खाना, अन्न, बालीनालीबाट पूरा गरेको थियो।

    प्रायः सल्ला प्रजाति मात्र भएको वन क्षेत्रमा बसोबास गर्ने बाँदरको अर्को समूहले भने ४५ प्रतिशत खाना वनबाट पूरा गरेको देखिएको छ। यसको अर्थ हामीले सन्तुलित वनको अवधारणामा प्राणी अनुकूलको विकास गर्नुपर्छ भन्ने हो। बाँदरले रुचाउने वन्य प्रजाति जस्तै घँगारु, चुत्रो, चिलाउने, कटुस, हाँडे बयर, काफल, जामुनो जस्ता बिरुवा लगाउनुपर्ने देखिन्छ। यस अतिरिक्त खण्डीकृत अवस्थामा रहेका वन क्षेत्रलाई यस्तै खाले बोटबिरुवा रोपेर अन्य वन क्षेत्रसँग जोड्नुपर्छ।

    द्वन्द्व व्यवस्थापनको अर्को उपाय हो, वैकल्पिक खेती। नेपालमा भएका विभिन्न अध्ययनले बाँदरले खास गरी मकै, आलु, गहुँ तथा अन्य तरकारीजन्य बाली नोक्सान गरेको देखिन्छ। तर, विभिन्न वासस्थान अनि समूह अनुसार बाँदरले धेरै नोक्सानी गर्ने बालीको सूची फरक हुन्छ। त्यस्तै, उपलब्धताका हिसाबले आफ्नो खानपिन परिवर्तन गर्ने स्वभाव भएको रातो बाँदरलाई दृष्टिगत गरेर मात्र वैकल्पिक खेती शुरू गर्नुपर्ने देखिन्छ।

    हालसम्मका अध्ययनमा टिम्बुर, कागती, खुर्सानी, अदुवा, बेसार, पिंडालु लगायत बाली बाँदरले कम नोक्सानी गरेको देखिन्छ। त्यसैले वन नजिकैका तथा धेरै नोक्सानी पुर्‍याउने खेतबारीमा यी बाली लगाउनु उपयुक्त हुन्छ।

    विभिन्न स्थानका बाँदर समूहले के-कस्तो बाली बढी रुचाएका छन् र खानपानको बेहोरा कसरी परिवर्तन गर्दै छन्, त्यस सम्बन्धी थप अध्ययन आवश्यक छ। बाँदरले नोक्सान गर्ने खेतबारीमा कृषकको चाहना अनुसार पशुपालन लगायत आय आर्जनका वैकल्पिक योजनाले पनि द्वन्द्व न्यूनीकरणमा भूमिका खेल्न सक्छन्।

    अध्ययनका क्रममा धेरैजसो कृषक बाँदरलाई अर्कै ठाउँमा स्थानान्तरण गरियोस् भन्ने चाहन्थे। सोही अनुरूप केही स्थानीय निकायले बाँदर समाती वनमा लगेर पनि छाडे। तर, यसको प्रभावकारिताबारे कुनै अध्ययन भएको छैन। अर्को महत्त्वपूर्ण कुरा, ती वैज्ञानिक ढङ्गले गरिएका स्थानान्तरण थिएनन्।

    यस्ता अवैज्ञानिक कार्यक्रम खर्चालु तथा प्रभावहीन हुने पुष्टि भइसकेको छ। भारतमा करीब २५ वर्षअघि सयौं बाँदर स्थानान्तरण गरिए। त्यति वेला त्यो कार्यक्रम सफल मानिए पनि हाल स्थानान्तरण गरिएको ठाउँमै मानव-बाँदर द्वन्द्व चुलिएपछि विज्ञहरू यसलाई बाँदरको नभई समस्याको स्थानान्तरणका रूपमा व्याख्या गर्न थालेका छन्।

    अर्को उपाय हो, बन्ध्याकरण। यसका लागि बाँदरको सङ्ख्या र समूह संरचनाको यकिन तथ्याङ्क हुनुपर्छ। अन्यथा, बन्ध्याकरणको खर्चिलो कार्यक्रम लागू गर्नु मूर्खता मात्र हुनेछ। यससँगै स्थान र समूह अनुसार बाँदरको खानपान, आर्थिक क्षति आदिको वैज्ञानिक विवरण विनै समाधानको उपाय खोज्नु निरर्थक हो।

    हालसम्मका अध्ययनलाई आधार मान्दा मानवीय गतिविधि बढी भएको स्थानमा द्वन्द्व बढी देखिन्छ। त्यसैले शहरीकरण बढ्दै गरेको स्थानलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ। साथै, वन खण्डीकरण हुनबाट रोक्ने कार्ययोजना तत्काल लागू गर्नुपर्ने देखिन्छ। भविष्यमा वन्यजन्तुद्वारा हुने आर्थिक नोक्सानी मापन गर्न राष्ट्रिय स्तरमै ‘वन्यजन्तुद्वारा हुने बालिनाली नोक्सान अनुगमन मापदण्ड’ तयार पारिए क्षति बापतको रकम भरपाइ दिने तथा बीमा जस्ता कार्यक्रम अघि बढाउन ढोका खुल्ने थियो।

    परिवर्तनशील सामाजिक परिवेश, बढ्दो जनसङ्ख्या र मानवीय गतिविधिका कारण भविष्यमा मानव-बाँदर द्वन्द्व झनै बढ्ने देखिन्छ। व्यवस्थापन गर्न ढिलाइ भइसकेको यो विषयमा तत्कालै राष्ट्रिय स्तरबाटै वैज्ञानिक अध्ययन र दृष्टिकोणलाई प्राथमिकता दिँदै अघि नबढे भविष्यमा यसले विकराल रूप लिन सक्छ।

    (कोइरालाले हालै युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सबाट ‘नेपालमा रातो बाँदर-मानव द्वन्द्व’ शीर्षकमा विद्यावारिधि गरेकी छन्। हिमालको २०७९ जेठ अंकमा ‘बाँदर बुझौं’ शीर्षकमा प्रकाशित।)

    सविना कोइराला

    साभार – हिमाल खबरबाट

  • स्थानीय

    बर्दिया नागरिक समाज संजालको रणनितिक योजना बारे छलफल सम्पन्न

    बर्दिया नागरिक समाज संजालको आगामी रणनितिक योजनाको बारेमा बृहत छलफल भएको छ । नागरिक समाज संजाल बर्दियाका संयोजक हिमा सुनारको अध्यक्षतामा बसेको बैठक तथा रणनितिक आयोजनामा शुक्रबार बृहत छलफल भएको हो । छलफलमा बर्दिया नागरिक समाज संजाललाई कसरी अगाडी बढाउने, आगमी योजनाहरु के कस्ता बनाउने र नागरिक समाजको चुनौतीका बिषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा सहभागीहरुको लामो छलफल पश्चात बर्दिया नागरिक समाज संजालले गरेका कार्यहरुको बारेमा आम नागरिकहरुलाई जानकारी गराउने, लामो सयमदेखी सक्रिय र जिम्मेवारी…

  • स्थानीय

    बढैयाताल गाउँपालिकाले फोहोरबाट मोहर कार्यक्रम संचालन गर्ने

    बर्दिया, फोहोरबाट मोहर कार्यक्रम संचालन गर्ने बढैयातालको नीति तथा कार्यक्रम रहेको अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भएको छ । बढैयाताल गाउँपालिकाको सनीवार भएको ११औं गाउँसभाको नीति तथा कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले उक्त कुरा बताउनु भएको हो । फोहोरबाट मोहर कार्यक्रम संचालनको लागि प्रत्येक घरमा फोहोरमैलाको वर्गिकरण गरी कम्पोष्ट मल बनाउने तालिम संचालन गर्ने, विभिन्न कारणले मरेका जिवजन्तुको सिनो व्यवस्थापन गर्न कार्यक्रम गरिने, यसै बर्षदेखी फोहोरमैला व्यवस्थापनलाई निजी क्षेत्रको साझेदारीमा संचालन गर्न आवश्यक प्रक्रिया मिलाईने,यसै बर्षदेखी फोहोरमैलामा…

स्वास्थ्य

    २६ असार २०७९, आईतवार ०१:२३

    बिबाह गर्दा कुन्डली मिलाउनु नै सिकलसेल रोकथामका मुख्य उपाय

    बर्दिया, सिकलसेल रोग वंशाणुगत रोग भएकोले कसैले पनि विवाहा गर्दा सिकलसेल परिक्षण गरेर मात्र रोगी रोगी विच विवाहा नगर्नु नै…
    २२ चैत्र २०७८, मंगलवार १४:१२

    टाईफाईड रोगीको मृत्युदर र अपाङ्गतादर न्युनिकरणका लागि खोप अभियान

    बर्दियामा टाईफाईड रोगीको मृत्युदर र अपाङ्गतादर न्युनीकरणका लागि १ लाख भन्दाबढी बालबालिकालाई टाईफाईड रोग विरुद्धको खोप दिईने भइको छ । आउदो…
    २३ पुष २०७८, शुक्रबार १३:११

    देशमा उत्पादन बढाऊ, स्वदेशी समान उपभोग गरौं

    खगेन्द्र तिम्सिना हामी गरिब देशका नागरिक भनेर नाक खुम्चयाउछौ । देश गरिब बनाएको दोष राजनितिकर्मी नेतालाई दिएर गाली गर्छौ ।…
    १ मंसिर २०७८, बुधबार ०२:१०

    बर्दियामा १८ बर्षभन्दा माथीका नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईदै

    होमेन्द्र थापा, बर्दिया । बर्दियामा १८ बर्षभन्दा माथीका सबै नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईने भएको छ । खोप सम्वन्धमा मंगलबार…
    ३ आश्विन २०७८, आईतवार १५:००

    जनैखटिराः छालाको संक्रमणका कारण हुने अत्यन्त पीडादायी रोग 

    जनैखटिरा प्रायः बढ्दो उमेर तथा रोग प्रतिरोधी क्षमता कमजोर हुने व्यक्तिमा देखा पर्छ । घाउ, चोटपटक, औषधीको साइड इफेक्टजस्ता थुप्रै…
    १९ जेष्ठ २०७८, बुधबार १५:४४

    शहिदहरुले देखाएको बाटोमै अगाडी बढिरहेकाछौं अञ्जु दहित (उप प्रमुख बारबर्दिया न.पा.)

    होमेन्द्र थापा बर्दिया, बारबर्दिया नगरपालिकाका नगर उप प्रमुख अञ्जु दहितले शहिदहरुले देखाएको बाटोमै अगाडी बढिरहेको कुरा संञ्चारकर्मीहरुसंगको भेटघाट तथा छलफलमा…

    कला/मनाेरञ्जन

      १७ जेष्ठ २०७८, सोमबार १३:३१

      रमा थपलिया : म सन्तोष पन्तकी श्रीमती होइन !

      मेरो जीवन काठमाडौं कुवेर गिरी उमेरले बुढ्यौली छोए पनि कलाकार रमा थपलियाको सक्रियता, जोस र जाँगर अहिले पनि कायमै छ…
      १३ जेष्ठ २०७८, बिहीबार १६:०९

      नीता लेख्छिन्–‘यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ’

      नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका…
      १३ जेष्ठ २०७८, बिहीबार ०९:०७

      निकसँग रोमान्टिक प्रियंका

      नायिका प्रियंका चोपडाले बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी छिन् । उनै, प्रियंका आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर…
      १३ जेष्ठ २०७८, बिहीबार ०९:०२

      यूएई सरकारले दियो संजयलाई ‘गोल्डेन भिसा’

      बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको…
      १३ जेष्ठ २०७८, बिहीबार ०८:५९

      बुबालाई लाइभ शो देखाउने सपना पूरा गर्न सकिनँः आदर्श मिश्रा

      ‘मानिसहरुले मलाई ठूलै स्ट्यान्ड अफ कमेडियन’ मान्दा रहेछन् । तर, प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रमको आयोजना गरेर बाबालाई अगाडि राखेर एउटा…
      ६ कार्तिक २०७४, सोमबार १३:०६

      चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न

      गोपाल जंग थापा टीकापुर, कैलाली नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा…
      २२ आश्विन २०७४, आईतवार ०७:१२

      राजापुरमा आशाको महोत्सव चंगाई कार्यक्रम

      बर्दियाको राजापुरमा आयोजना गरिएको आशाको महोत्सव चंगाई कार्यक्रम २०७४ गत बुधबार सकिएको छ । भौराटप्पा इसाई एकता समाजले सञ्चालित महोत्सवको…
      २२ आश्विन २०७४, आईतवार ०७:१२

      जवानी चुम्न बोलाउँदै रेश्मा

      नेपाली मोडेल दिपक ढुंगानाको नया गीतको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक गरीएको ‘जवानी मेरो फुलसरी चुम्न आउ…

      साहित्य पाना

        २९ श्रावण २०७८, शुक्रबार १५:१९

        हरि बिजोग

        २ असार २०७८, बुधबार ०७:३१

        यसको दश गात्रगर्छू

        २ असार २०७८, बुधबार ०७:१२

        टकटक गरिहिड्थ्यो

        २८ जेष्ठ २०७८, शुक्रबार ०६:२०

        “मपाईं”

        २८ जेष्ठ २०७८, शुक्रबार ०६:१०

        मुक्तक

        Back to top button