काठमाण्डौ चैत २९ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स गुजरात टाईटन्ससँग हारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले हराएको हो । यो सिजनमा राजस्थानको यो पहिलो हार हो ।
राजस्थानले दिएको १ सय ९७ रनको लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए । ओपनर साई सुदर्शनले ३५ रन जोडे । राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान सञ्जु स्यामसनले ६८ रन जोडे । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए । जित पछि गुजरात ६ खेलमा ६ अङ्क सहित छैठौँ स्थानमा छ । राजस्थान ५ खेलमा ८ अङ्क सहित शीर्ष स्थानमा छ ।
आईपीएलमा आज मुम्बई इन्डियन र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् । वाङखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Facebook Comments Box