होमेन्द्र थापा, बर्दिया
बैशाख २४ गते
बर्दियाको बारबर्दिया नगरपालिकाले शैक्षिकसत्रबाट स्थानीय भाषा (थारु भाषा)मा पाठ्यक्रम लागु गरेको छ । पालिका भित्र रहेका ५७ वटा सामुदायिक विद्यालयमा एकै साथ कक्षा १ देखि ३ सम्म थारु भाषाको पाठ्यक्रम लागु गर्ने भएको हो । थारु भाषामा पाठ्यक्रम लागु गर्न थाले पछि स्थानीय अभिभावकहरु खुशी देखिन्छन् ।
बारबर्दिया नगरपालिकामा ७३ प्रतिशत थारु समुदायको बसोबास रहेको छ । स्थानीय समुदायको कलासंस्कृति, चार्डपर्व र स्थानीय उत्पादन तथा हस्तकला सम्बन्धि विद्यालय स्तरबाट स्थानीय भाषामै सिकाई प्रभावकारी हुने अपेक्षाले थारु भाषामा पाठ्यक्रम लागु गरिएको छ । पालिकाले ३ बर्ष पहिले देखि स्थानीय पाठ्यक्रम “बारबर्दिया गौरव” लागु गरेको थियो । अहिले सोही पाठ्यक्रमलाई थारु भाषामा अनुबाद गरेर लागु गर्न थाले पछि समग्र स्थानीय अभिभावकहरु खुसि भएको बारबर्दिया नगरपालिका वडा न. ६ जयपुरका कृष्ण प्रसाद थारु बताउछन् ।

आफ्नै बारबर्दियाको पेरीफेरीमा रहेर क्रियाकलाप भाषासंग जोडिएको कुराहरुलाई राखेर पाठ्यक्रम निर्माण गरिएको बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईको भनाई छ । स्थानीय पाठ्यक्रममा ७ वटा बिषयबस्तुहरु राखिएको छ । कक्षा १ मा लागु हुने भएकोले मातृभाषा थारु भएको वा मातृभाषा नेपाली भएपनि थारु भाषामा पनि दखल राख्ने शिक्षकहरुलाई नै कक्षा १ मा लगाउने गोसाईले बताउनु भयो । अबको एक हप्तामा पाठ्यक्रम सार्वजानिक गरेर सामुदायिक बिद्यालयहरुमा लागु गर्ने तयारी रहेको छ । शैक्षिकसत्र २०८१ मा कक्षा १ मा लागु गर्ने, २०८२ मा कक्षा ३ सम्म लागु गर्ने, २०८३ मा कक्षा ५ सम्म लागु गर्ने र २०८४ सम्म स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका बमोजिम कक्षा ८ सम्म नै संचालन गर्ने तयारी भईरहेको शाखा प्रमुख गोसाईले जानकारी दिनु भयो ।
बारबर्दियामा शिक्षाको स्तरलाई सुधार गर्नको लागि यो बर्षदेखी बालविकास र कक्षा १ मा अनिवार्य अंग्रेजी मिडियम लागु गरिएको छ । बर्खे बिदाभन्दा पहिला नै बिद्यार्थी बालबालिकाहरुको हातहातमा थारु भाषाको पुस्तक पुग्ने गरी काम भईरहेको छ । अभिभावकहरुलाई आर्थिक भार नहोस भनी बिद्यार्थी बालबालिकाहरुलाई टाई, बेल्ट, पुस्तक लगायतका सामाग्रीहरुको खर्च स्थानीय सरकारले व्यहोर्ने गरेको नगर प्रमुख छवीलाल थारुले बताउनु भयो ।
७३ प्रतिशत थारु बाहुल रहेको बारबर्दियामा बारबर्दिया कार्यपालिकाको निर्णय अनुसार थारु भाषाको पाठ्यक्रम संचालन भएकोमा थारु बालबालिकाको लागि लाभदायक हुने स्थानीय अभिभावकहरुको बिश्वास रहेको छ ।

Facebook Comments Box