काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न आज बैठक बोलाउनु भएको छ । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११.३० बजेका लागि बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाउनु भएको छ ।

वैशाख २८ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरुद्ध गरेको थियो ।

काँग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने अडान कायमै राखेको छ । नियमित रूपमा बैठक सञ्चालन गर्ने विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूको बैठक बोलाउनुभएको हो ।

Facebook Comments Box