बैतडी : केहिदिनदेखि यहाँका जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण फैलिएको छ। जिल्लाका अधिकांश वन क्षेत्रमा लागेको डढेलोका कारण ग्रामिण तथा बजार क्षेत्रमा प्रदूषण फैलिएको हो। जसका कारण यहाँको जनजिवन समेत प्रभावित बन्न पुगेको छ।

हावामा धुवाको मात्रा बढेपछि मौसमी बिरामीको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य संस्थाहरूले बताएका छन्। आगलागीका कारण गाउँघरमा समेत रुघाखोकी र ज्वरोका विरामी बढेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो। प्रदूषित हावाका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित हुन पुगेका छन्।

कामका लागि बाहिर निस्कनै समस्या भइरहेको र पशु चौपायाहरूमा समेत विभिन्न खालको समस्या देखिन थालेको छ। आगलागीको धुवाले स्वासप्रश्वास सम्बन्धी समस्या देखिने र फोक्सो र मुटुमा समेत समस्या निम्तिने जोखिम हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। सुशिल विकले जानकारी दिए।
बैतडीका अधिकांश क्षेत्रमा आगलागीका घटना भइरहेका छन्। तर डिभिजन वन कार्यालयले भने जिल्लामा लागेको आगलागी र आगलागीका कारण भएका घटनाको कुनै विवरण राखेको छैन।

आगलागी र डढेलोसम्बन्धी विवरण संकलनको काम भइरहेको डिभिजनल वन अधिकृत दीलिपकुमार यादवले बताए। वनजंगलमा लागेको डढेलोका कारण वन्यजन्तु समेत संकटमा परेका छन्।

Facebook Comments Box