काठमाडौं । भारतमा चलिरहेको लोकसभा चुनावमा तेस्रो चरण अन्तर्गत आज ९३ ठाउँमा मतदान भइरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो ।
तेस्रो चरणमा असमका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्य प्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बङ्गाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवम् दामनको गरी दुई ठाउँमा मतदान भइरहेको छ ।
तेस्रो चरणको यो चुनावमा एक सय २० जना महिलासहित एक हजार तीन सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । झन्डै १७ करोड मतदाता आजको मतदानमा सहभागी हुनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादमा रहेको निशान माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्नुभएको छ । उहाँले लोकसभा चुनावमा सक्रिय रूपमा सहभागी हुन आह्वानसमेत गर्नुभएको छ ।
आजका लागि तय भएको जम्मु–कश्मीरको अनन्तनाग–रजौरीको निर्वाचन कार्यक्रम भने स्थगित गरिएको छ । त्यहाँ आउँदो २५ तारिखमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१९ को चुनावमा आज मतदान भइरहेका ९३ मध्ये भारतीय जनता पार्टी ९भाजपा० ले ७२ ठाउँमा जित हासिल गरेको थियो ।
यो तेस्रो चरणको चुनावपछि भारतीय लोकसभाको कुल सिट ५ सय ४० मध्ये आधाजसोमा मतदान सम्पन्न हुनेछ । सात चरणमा सम्पन्न हुने भारतको लोकसभाको चुनाव गएको अप्रिल १९ तारिखदेखि शुरु भएको हो । आउँदो जुन १ तारिख सबै क्षेत्रको मतदान सकिनेछ ।

Facebook Comments Box