काठमाण्डौ – नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ ।

काठमाण्डौमा भएको एक कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध उद्योगी व्यवसायीहरूले सरकारले ल्याउने आउँदो  आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्ने बताएका हुन् । उनीहरूले पछिल्लो समय अर्थतन्त्र शिथिल अवस्थामा रहेको भन्दै सरकारले नीतिगत रूपमा सुधारको पहल गर्न आवश्यक रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो । पछिल्लो समय जलविद्युत् र पर्यटन क्षेत्रबाहेक अन्य व्यावसायिक क्षेत्र शिथिल रहेको उहाँको भनाइ छ ।

अध्यक्ष अग्रवालले भन्सार दर कम गरी कारोबार मूल्यलाई मान्यता दिए मात्रै पनि व्यापार व्यवसाय माथि उठ्नसक्ने बताउनुभयो । यस्तै बैंकको ब्याजदर अझै घटाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

यस्तै अर्को कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिनुभएको छ । उहाँले अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको बताउनुभयो ।

Facebook Comments Box