काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ ।
श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरू फेरि खुलेका छन् ।
भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ ।
अप्रिल २२ को पहलगाम आक्रमणपछि भारतले पाकिस्तानमा रहेका आतंकवादीका ठेगानाहरुमा ‘अप्रेसन सिन्दूर’ नामक अभियान चलाएपछि दुवै देशबीच तीन दिनसम्म युद्धको अवस्था सिर्जना भएको थियो । त्यसपछि दुवै देशले युद्धविराम गरेका थिए ।