दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँदा धान खेती प्रभावित हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।
स्थानीय वितरण व्यवस्थाअनुसार हाल एक कठ्ठा जग्गाका लागि २ केजी युरिया मल मात्र वितरण भइरहेको किसानहरूको गुनासो छ। उनीहरूका अनुसार यो परिमाण बालीको आवश्यकताभन्दा निकै कम भएकाले उत्पादनमा नकारात्मक असर पर्ने सम्भावना बढेको छ।
स्थानीय किसानहरूले सरकारले समयमै पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। किसानहरूको भनाइमा खेतीको मुख्य समयमा मल अभाव दोहोरिनु कृषि क्षेत्रमा गम्भीर चुनौती बनेको छ।
किसानहरूले सम्बन्धित निकायसँग तत्काल पर्याप्त युरिया मलको व्यवस्था गर्न, वितरण प्रक्रियालाई प्रभावकारी बनाउन तथा सबै कृषकले सहज रूपमा मल पाउने वातावरण सिर्जना गर्न माग गरेका छन्।
समयमै मलको आपूर्ति हुन नसके यस वर्ष धान उत्पादनमा असर पर्ने र त्यसको प्रत्यक्ष प्रभाव किसानको आम्दानीमा पर्ने स्थानीय कृषकहरूको भनाइ छ।।



