प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाई बर्दियाले जिल्लामा सञ्चालित जोन तथा सुपरजोनहरूको प्रगति हेर्न अन्तर निकाय संयुक्त अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति (जिसस), IALDO, जोन समन्वय समिति बर्दिया तथा सञ्चारकर्मीहरूको सहभागितामा अनुगमन टोलीले राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा कार्यान्वयन भइरहेका कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको हो ।
एकाई प्रमुख वीरेन्द्र राज पराजुलीले आर्थिक वर्ष २०८१/०८२ मा धान सुपरजोन अन्तर्गत राजापुर क्षेत्रमा चैते धानलाई विशेष प्राथमिकता दिइएको बताउनुभयाे । उहाँले भन्नुभयो, “नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र राजापुर भएकाले चैते धानमा विशेष ध्यान दिएका छौं ।”

परियोजनाले जिल्लाका विभिन्न पालिकामा धान, केरा र माछा जोन तथा सुपरजोनमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रमुख पराजुलीले जोन तथा सुपरजोनहरूको प्रभावकारिता मूल्याङ्कन गरी आगामी योजनालाई थप सशक्त रूपमा अघि बढाइने उल्लेख गर्नुभयो ।
अनुगमनको क्रममा जिसस प्रमुख सूर्यबहादुर बिष्टले परियोजनाले कृषकको आवश्यकता पहिचान गरी प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले गणेशबाबा एग्रो सिड कम्पनी लिमिटेडलाई ५० प्रतिशत अनुदानमा बीउ प्रशोधन मिल, श्री सयपत्री कृषि सहकारी संस्था लिमिटेडलाई कस्टम हायरिङ्ग सेन्टर, दक्षिण गिदरपुर कृषक समूहलाई पावर टिलर, थ्रेसर र कटर तथा बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई खाद्यान्न भण्डारण भवनका लागि दिएको सहयोग उल्लेखनीय रहेको धारणा राख्नुभयो।

अनुगमनमा सहभागी विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले पनि परियोजनाबाट प्राप्त सहयोगले आफूहरूलाई काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । गणेशबाबा एग्रो सिड कम्पनी लिमिटेड राजापुर-८ धोविनपुरका शर्मा चौधरी, सयपत्री कृषि सहकारी संस्था लिमिटेडका लालबहादुर थारू, दक्षिण गिदरपुर कृषक समूहका शालिकराम चौधरी, बसन्त साना किसान कृषि सहकारीका माया कुमारी बोहोरा क्षेत्री र दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गुलरिया–४ की जितकुमारी योगी लगायतले परियोजना र एकाइ प्रमुखको टिमप्रति आभार व्यक्त गर्नुभयाे । अनुगमनका क्रममा जोन–सुपरजोनहरूमा भौतिक पूर्वाधार, अनुदान वितरण, किसानको सहभागिता र उत्पादनको अवस्थाबारे विस्तृत जानकारी लिइएको थियो।






