बर्दिया–
दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् ।
भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् ।
बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)का उपाध्यक्ष एवं प्रचार प्रसार विभागका प्रमुख प्रताप कुमार गौतम, कान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सेक्रेटरी विनय राना नेकपाका सेक्रेटरी टिकाराम “सी” र नेकपाका सेक्रेटरी केशर सिंह लावडको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा जिल्लाका क्रियाशिल क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको सो सहमति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरुको तर्फबाट जोडदार विरोध गर्दछौं साथै तत्काल यसको खारेजीको लागि नेपाल सरकार सँग कुटनितिक पहल गर्न माग गर्दछौं ।