काठमाडौं । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

बिहीवार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो ।
नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै ब्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गर्नुभयो । उहाँले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले आजबाट प्रारम्भ भएको नयाँ मोड्युलले सबै नियोगहरुमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था शुरु गरेको बताउनुभयो ।

उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढंगले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताउनुभयो । उहाँले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने पनि बताउनुभयो । उहाँले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्नसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।

Facebook Comments Box