काठमाण्डौ बैशाख १६ – प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावको मतगणना शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले केहीबेरअघि मात्रै मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । गणनास्थलमा ११ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ुडिस्प्ले बोर्डु मा परिणाम सार्वजनिक गरिँदैछ । मतपरिणाम एकरएक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले जानकारी दिनुभयो । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।
२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावमा इलाम–२ बाट निर्वाचित नेकपा ९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो । उपचुनावमा १८ जना उम्मेदवार छन् ।
यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ ९क० मा भएको उपचुनावको मतगणना केहीबेरमा शुरु हुँदैछ । आज बिहान ७ बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएकोले मतगणना केहीबेर पछि शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतको भवनमा मतगणना हुने छ । हिजो भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ । चुनावमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो ।

Facebook Comments Box