काठमाण्डौ – वेस्ट इन्डिज (ए) टोलीसँगको दोस्रो टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएको छ ।
वेस्ट इन्डिज (ए) ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहितकुमार पौडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् । वेस्ट इन्डिज (ए) का ओबेड मकोए र गुदाकेश मोटीले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज (ए) ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो । वेस्ट इन्डिज (ए) का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश मोटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
योसँगै पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा १–१ को बराबरी भएको छ । हिजो भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज (ए) लाई ४ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

Facebook Comments Box