Skip to main content

Babai News

ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार।

Advertisement

मोहम्मद शाहिन जमाली,

वीरगन्ज।
जसरी दशैं, तिहार, छठ, ल्होसार, क्रिसमस लगायत चाडपर्वमा परीक्षा राखिंदैन, त्यसैगरी ईदमा पनि परीक्षा तोकिनु हुँदैन। २०८० माघ २९ मा प्रकाशित नेपाल राजपत्रमा २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा ईद उल-फित्रको बिदा पनि समावेश छ। सरकारले हरेक वर्ष ईद उल-फित्रमा सार्वजनिक बिदा दिंदै आएको छ।

सरकारले नेपालका विविध धर्म, संस्कृति, परम्परालाई ध्यानमा राख्दै सबै समुदायका चाडपर्वको सम्मानस्वरूप बिदा दिने नीति अवलम्बन गरेको हो। तर शैक्षिक संस्थाहरूले सरकारी नीतिको बेवास्ता गरिरहेका छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मले ईदकै दिन परीक्षा राख्ने गरेका छन्। यो वर्ष पनि त्यही परिपाटी दोहोरिएको छ।

रमजान एक महीना लामो हुन्छ। रमजान महीनाको अन्त्यमा ईद उल-फित्र मनाइन्छ। रमजान कहिले २९ दिनको त कहिले ३० दिनको हुन्छ। त्यसैले ईदको मिति पूर्व निर्धारित हुँदैन। रमजानपछि ईद मनाइन्छ। यस वर्ष पनि चैत १८ र १९ गतेमध्ये एक दिन ईद छ।

यही दिन शैक्षिक संस्थाले परीक्षा तोकेका छन्। जसले गर्दा मुस्लिम समुदायका विद्यार्थीलाई सास्ती हुने गरेको छ। यसले धार्मिक सहिष्णुता र मौलिक अधिकारप्रति शैक्षिक संस्थाको बेवास्ता पनि देखाउँछ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को महत्त्वपूर्ण विषयको परीक्षा यही मितिमा छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक तह (बीएएलएलबी) दोस्रो सेमेस्टरको अन्तिम परीक्षा, लुम्बिनी बौद्ध विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक तह (बीएएलएलबी) पहिलो, पाँचौं र छैटौं सेमेस्टरको परीक्षा यही वेला तोकिएको छ।

अझ झस्काउने कार्यक्रम त वीरगन्ज महानगरपालिकाको छ, जहाँ मुस्लिम समुदायका विद्यार्थी अन्यत्रभन्दा धेरै छन्। वीरगन्ज महानगरका सबै सामुदायिक विद्यालयले कक्षा ४, ६, ७ र ९ को वार्षिक परीक्षा ईदकै समयमा राखेका छन्।

विद्यार्थीलाई मानसिक तनाव

हरेक परीक्षा विद्यार्थीको शैक्षिक ‘करिअर’ का लागि निर्णायक हुन्छ। उसै पनि लामो समयको मिहिनेत र तयारी गरेका विद्यार्थी परीक्षा कसरी राम्रोसँग दिन सकिन्छ भन्ने चिन्तामा हुन्छन्। जब परीक्षा र धार्मिक पर्व एउटै दिनमा पर्छ, चिन्ता झन् थपिन्छ।

ईदका दिन बिहान सबेरै उठेर नमाज पढ्ने, परिवारसँग समय बिताउने, दान गर्ने र उत्सव मनाउने परम्परा छ। तर यही दिन परीक्षा तोकिंदा यी परम्परागत र धार्मिक गतिविधिमा सहभागी हुन गाह्रो हुन्छ।

यस्तो वेला दुवैतिरको लगावले तनाव उत्पन्न हुन्छ। एकातिर, पर्वको उत्साह बिथोलिन्छ, मानसिक तनाव बढ्छ। उनीहरू आफूलाई अवहेलित महसूस गर्छन्। अर्कातिर, परीक्षामा ध्यान केन्द्रित गर्न मुश्किल हुन्छ।

परीक्षाका कारण ईदको उल्लास नै सकिने गरेको मुस्लिम समुदायका विद्यार्थी गुनासो गर्छन्। वर्षमा एक पटक आउने ईद र परीक्षा जुध्दा तनाव उत्पन्न हुने उनीहरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको कानून संकायका एक विद्यार्थी संविधानप्रदत्त मौलिक हकलाई शिक्षण संस्थाले सम्मान नगरेको बताउँछन्। यसले पीडा महसूस हुने उनको भनाइ छ। त्रिविले जुन कुरा पढाइरहेको छ, त्यही कुरा व्यवहारमा लागू नगरेको देख्दा अवहेलित महसूस भएको उनी सुनाउँछन्।

इस्लाम धर्म मान्ने विश्वभरका करोडौं मानिसका लागि धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्त महत्त्वपूर्ण पर्व हो, ईद। नेपालमा पनि मुस्लिम समुदायले यस दिनलाई विशेष रूपमा नमाज, दान, भेटघाट, खानपान र पारिवारिक मिलनको पर्वका रूपमा मनाउँछ। एक महीनाभरि रोजा (उपवास) बसेपछि मनाइने यो पर्व आत्मसंयम, परोपकार र सामुदायिक एकताको प्रतीक पनि हो।

यसको महत्त्वलाई आत्मसात् गरेर नेपाल सरकारले सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ, जसको मुख्य उद्देश्य धार्मिक सहिष्णुता प्रवर्द्धन गर्नु हो। जब सरकारी नीति नै बहुसांस्कृतिक परम्परालाई मान्यता दिन अग्रसर छ भने शिक्षण संस्थाले किन बेवास्ता गरिरहेका छन्?

शिक्षा प्रणाली त बहुसांस्कृतिक समाजको संवाहक हुनुपर्ने हो। शिक्षा सम्बन्धी नीति बनाउँदा सबै धर्म, जाति तथा सांस्कृतिक समूहको प्रतिनिधित्वलाई ध्यानमा राख्नुपर्छ। तर पटक पटक मुस्लिम समुदायको पर्वलाई बेवास्ता गरिनु आपत्तिजनक मात्र होइन, गम्भीर लापरवाही पनि हो।

नेपालमा मुस्लिम समुदायको जनसंख्या पाँच प्रतिशत छ। विशेषगरी तराई-मधेशका शहरमा मुस्लिम विद्यार्थीको उपस्थिति धेरै छ। वीरगन्ज महानगरमा मात्र एसईई दिने मुस्लिम विद्यार्थीको संख्या करीब एक हजार ५०० रहेको तथ्यांक छ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायत उच्च शिक्षण संस्थामा समेत मुस्लिम विद्यार्थीको उपस्थिति राम्रै छ। तर तिनै विद्यार्थीले आफ्नो प्रमुख धार्मिक पर्व मनाउन छोडेर परीक्षा दिन बाध्य हुनुपरेको छ।

संविधान विपरीतको कदम

नेपाल धर्मनिरपेक्ष राष्ट्र हो, जहाँ सबै धार्मिक र सांस्कृतिक विविधताको सम्मान गरिनुपर्छ। नेपालको संविधानको धारा २६ (धार्मिक स्वतन्त्रताको हक)को उपधारा (१)मा ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ’ भन्ने उल्लेख छ।

यसैगरी, संविधानको धारा ३२ (भाषा तथा सांस्कृतिक हक)को उपधारा (२) मा ‘प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ’ भनिएको छ। तर मुस्लिम विद्यार्थीलाई ईदको दिन परीक्षा दिन बाध्य पार्ने अवस्था सिर्जना हुनु यस मौलिक अधिकारको उल्लंघन हो।

यसमा शैक्षिक संस्थाहरूले पात्रोमा मुस्लिम समुदायको पर्व उल्लेख नहुँदा समस्या भएको तर्क गर्छन्। ईद उल-फित्रको मिति पनि चन्द्रमा हेरेर निर्धारण हुन्छ। महीनादिन लामो रमजानको अन्त्यमा ईद मनाइन्छ। रमजानको २९औं दिनमा चन्द्रमा देखियो भने भोलिपल्ट ईद मनाइन्छ। देखिएन भने रमजान ३० दिनमा पूरा हुन्छ र त्यसपछि ईद मनाइन्छ।

ईदका सम्भावित दुई दिनलाई छोडेर पनि त परीक्षा निर्धारण गर्न सकिन्छ। अन्य चाडपर्व दशैं, तिहार, होली, छठ, ल्होसार जस्तै ईदका लागि पनि सोच्नुपर्ने हो। त्यसैले ईदका दिन नै परीक्षा तोक्नु लापरवाही मात्र नभई मुस्लिम समुदायप्रतिको बेवास्ता पनि हो।

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र हो, जहाँ सबै समुदायका चाडपर्वको सम्मान गरिनुपर्छ। ईद उल-फित्रको महत्त्व बुझेर सरकारले बिदा दिने निर्णय गरिसकेको छ भने शैक्षिक संस्था तथा निकायले त्यसै अनुसार जिम्मेवार भएर परीक्षातालिका बनाउनुपर्छ।

परीक्षातालिका तय गर्दा सबै समुदायका पर्वको सम्मान गरिनुपर्छ। मुस्लिम विद्यार्थीको हक र स्वतन्त्रताको रक्षाका लागि पनि ईदमा परीक्षा राखिनु हुँदैन। यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक पहल गर्नुपर्छ।
साभार : हिमाल खबर

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...