बर्दियाकाे राजापुर नगरपालिका र कैलाली जिल्ला जाेड्ने कर्णाली नदीको सत्तिघाट पुल नभासिएकाे र हिँड्न सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले स्पष्ट पारेकाे छ ।
प्रशासनले सामाजिक सञ्जालमा साे पुल भासिई असुरक्षित रहेको भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रचार पूर्ण रूपमा भ्रामक भएको प्रष्ट पारेकाे हाे ।
असार १५ गते केही व्यक्तिहरूले टिकटक तथा फेसबुकजस्ता सामाजिक सञ्जालमा पुल भासिएकाे भिडियो अपलोड गरेपछि प्रशासनले ध्यानाकर्षण पत्र जारी गर्दै उक्त भिडियाेमा देखाईएकाे दृश्यहरू विगत वर्षकाे र यस वर्ष कुनै समस्या नरहेकाे बताएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा झूठो र भ्रामक जानकारीसहित भिडियो अपलोड गरी त्रास फैलाउने प्रयास गरेपछि प्रशासनले सो विषयमा ध्यानाकर्षण गराएकाे उल्लेख गरिएकाे छ । हाल पुलमा पैदल तथा सवारीसाधनको सामान्य रूपमा आवागमन भइरहेको प्रशासनले जनाएको छ ।
पत्र मार्फत प्रशासनले यस प्रकारका गतिविधिहरूले सर्वसाधारणमा अनावश्यक डर सिर्जना गर्ने भएकाले यस्ता कार्य नगर्न आग्रह गर्दै, दोहोरिएमा कानूनी कारबाही हुने चेतावनी दिएको छ। साथै, प्रशासनले जनतालाई सत्य तथ्यमा आधारित जानकारी मात्र विश्वास गर्न तथा भ्रामक प्रचारप्रसारबाट टाढा रहन अनुराेध समेत गरेको छ।





