होमेन्द्र थापा, बर्दिया
चैत्र ४ गते २०८०

बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका कृषकहरु चैते घान रोप्न व्यस्त रहेका छन् । असारको तुलनामा चैते धानको उत्पादन बढी हुने, चैते धानमा खासै रोग नलाग्ने र चैते धानमा राज्यबाट अनुदान पाउदे हुँदा चैते धानमा कृषकहरुको आकार्षण बढेको हो । यहाँका किसानहरुले आजभोली चैते धान रोप्ने, असारमा अर्को धान रोप्ने र धान काटेर फेरी तोरी छर्ने गर्दछन । यसरी बर्षमा ३ वाली खेती लगाउन पाउदा यहाँका कृषकहरुलाई चैते धान रोप्ने चटारो छ ।
अन्न भण्डारको रुपमा चिनिने बर्दिया जिल्लामा अधिकाँश बर्षमा तिन खेती गर्ने गर्दछन । झनै राजापुर नगरपालिका र गेरुवा गाउँपालिका त सिंचित क्षेत्र हो । यहाँ कार्णली नदीको कुलोपानी लाग्छ । यस क्षेत्रमा खेतीपाती पनि राम्रै हुन्छ । चैते धान बेलैमा रोपेपछि बर्षामा पनि बेलैमा धान रोप्न पाईने र धान काटेर तोरी छर्न पाईने हुँदा आजभोली यस क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारो रहेको छ । राजापुर नगरपालिका वडा न. ५ का कृषक मुकेश थारुले नहरको पानीको सुविधा भएको र गत बर्ष धान उत्पादन पनि राम्रै भएको हुँदा आफुले यस बर्ष चैते धान बढी रोपेको बताउनु भयो ।
चैते धानको लागि माघको अन्तिम सातामा धानको विउ राख्ने र फागुन अन्तिम सातादेखी धान रोप्ने गर्दछन । चैते धान मसिनो धान हुने र खानामा पनि राम्रो हुने हुँदा आफुले ३ बर्षदेखी निरन्तर चैते धान रोप्दै आएको कृषक डण्डीराम थारुको भनाई रहेको छ ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका धान सुपरजोन क्षेत्र हो । यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय रहेको छ । यस क्षेत्रका किसानहरुले प्रत्येक बर्ष चैते धान लगाउदै आईरहेका छन् । गत बर्ष ११ सय ८५ हेक्टरमा लगाईएको चैते धान यस बर्ष १२ सय देखी १३ सय हेक्टरमा लगाईने सम्भावना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालयले जनाएको छ । चैते धान लगाउनको लागि सुचिकृत भएका किसानहरुको लागि निशुल्क प्राविधिक सेवा दिने, सिचाई पुर्वधार, कुलो मर्मत र यन्त्रीकरणहरु ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई राजापुर, बर्दियाका नायव प्राविधिक सहायक गणेश रसाईलीले जानकारी दिनु भयो ।

Facebook Comments Box