होमेन्द्र थापा, बर्दिया
चैत २७ गते
बर्दियामा परम्परागत तरिकाको मकै खेती छोडेर आधुनिक तरिकाबाट उन्नत जातको मकै खेती प्रति किसानहरुको आकर्षण बढ्दै गईरहेको छ । परम्परागत तरिकाले लगाएको मकैभन्दा आधुनिक तरिकाले लगाएको उन्नत जातको मकै बढी उत्पादन हुने, बजारमा सहजै बिक्री हुने, अन्य खेतीको तुलनामा मकैबाट किसानलाई बढी मुनाफा हुने भएकोले किसानहरु मकै खेती प्रति आकर्षित भएका हुन ।
बर्दिया भु बनवटको हिसावले खेती योग्य र सिचाईको सुविधा भएको जिल्ला हो । अन्न भण्डारको रुपमा चिनिने बर्दियामा पछिल्लो समय आधुनिक तरिकाले उन्नत जातको मकै खेती लगाउन थालेका छन् । किसानहरुले हिउदे मकै र बसन्ते मकै वाली लगाए पछि भनै हराभरा देखिएको छ । मकैको बजार सहज भएको, खाना तथा पशुपन्छीका लागि दाना बनाउन, हरियो घोंगा बेचेर नगद आम्दानी गर्न सकिने भएकोले किसानको रोजाईमा पर्न थालेको छ ।
मधुवन नगरपालिका वडा न. ७ का किसान मेघनाथ अधिकारीले बसन्ते मकै वाली लगाउदा बर्षमा ३ खेती लगाउन पाईने, बर्षायामको मकै भन्दा बसन्ते मकै राम्रो हुने र लामो समय सम्म भण्डारण गरेर राख्न पनि सकिने बताउनु हुन्छ । अन्य खेतीको तुलनामा बसन्ते मकै खेतीमा राम्रो आम्दानी भएकोले आफुले निरन्तर ३ बर्षदेखी मकै खेती गर्दैआईरहेको अधिकारीको भनाई छ ।
मकै खेतिमा लागिरहेका व्यवसायिक किसानहरुको लागि एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले मकै खेति प्रविधि, किरा व्यवस्थापन, गोडमेल झारपात व्यवस्थापन र विउविजनमा सहयोग गर्दैआईरहेको कार्यालयको भनाई छ । बर्दिया जिल्लामा ४ सय हेक्टर बढी क्षेत्रफलमा आधुनिक तरिकाले उन्नत जातको मकै खेती गर्दैआईरहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अधिकृत तीर्थ बहादुर खड्काले जानकारी दिनु भयो ।
मकै पोषणको हिसावले पनि उत्तम मानिन्छ । मानिसले खानपानमा पनि मकैको महत्व बुझदै गएका छन् । गत बर्ष बर्दियामा मकैको मुल्य ३५ सय देखी ४ हजार सम्म रहेको थियो । यस बर्ष मकै खेती राम्रै हुने किसानहरुको अनुमान छ ।

Facebook Comments Box