होमेन्द्र थापा, बर्दिया
बैशाख ५ गते
बर्दियामा श्री सशस्त्र प्रहरी बल, नेपाल न. ३१ गणले हिजो आगलागी नियन्त्रणको कृतिम अभ्यास गरेको छ । आगलागीबाट हुने जनधनको क्षती न्युनिकरण गर्ने उद्देश्यले गुलरियाको कट्टीमा आगलागी नियन्त्रणको अभ्यास गरिएको हो ।
बर्दिया जिल्ला आगलागी विपद दोस्रो जोखिमका रुपमा रहेकोले जनचेतना मुलक अभ्यास गरिएको श्री सशस्त्र प्रहरी बल, नेपाल न. ३१ गणका गणपति चित्राङ्गगत दाहालको भनाई छ । वहाँले आगलागीबाट बच्न सबभन्दा पहिला हामी स्वमं चनाखो हुनु पर्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष बेद प्रसाद खरेलले यो सिजनमा सबै सचेत रहन अग्रह गर्नु भयो । वहाँले यो समय आगलागीको सम्भावना बढी हुने हुँदा आगलागीबाट बर्दिया बासीहरुलाई मुक्त गराउनको लागि सशस्त्र प्रहरी गणले गरेको जनचेतना मुलक अभ्यास प्रशांसनिय रहेको बताउनु भयो ।
यसै गरी गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले नेपाल प्रहरी र सशस्त्र प्रहरीसंग मिलेर गुलरिया नगरपालिकाले यस्तै जनचेतना मुलक कार्यक्रम गर्ने प्रतिबद्धता गर्नु भएको छ । आगलागी घटना भईसकेपछि स्थानीयले जोखिम कम गर्नको लागि अपनाउनु पर्ने सावाधानीहरु प्रर्दशन गरिएकोले विपदका समयमा सहयोग पुग्ने यादवको भनाई छ ।
आगलागी नियन्त्रण अभ्यासमा आगलागी हुनबाट कसरी रोकथाम गर्ने, घरमा ग्यास सिलिन्डरमा आगो लागे कसरी नियन्त्रण गर्ने, आगलागी हुँदा स्थानीय स्रोत साधानको कसरी प्रयोग गर्ने, आगलागी भईसके पछि कुन प्रकृयामा जाने, स्थानीय व्यक्ति, नेपाल प्रहरी र शसस्त्र प्रहरीद्धारा कसरी छिटोभन्दा छिटो आगलागी नियन्त्रण गर्न सकिन्छ लगायतका चेतना मुलक अभ्यास प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुलरिया नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत स्थानीयहरुको समेत सहभागीता रहेको थियो । बर्दिया जिल्ला तराईका गर्मी हुने जिल्लाहरु मध्ये अत्यन्तै गर्मी हुने जिल्ला हो । गत आर्थिक बर्षमा ५३ वटा आगलागी घटनामा ८ जनाले ज्यान गुमाएको र ७ जना घाईते भएको तथ्याङ्ग रहेको छ ।

Facebook Comments Box