काठमाण्डौ बैशाख ५ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुगेको जनाएको छ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवम् डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत् पुस्तक पुर्‍याएको उहाँले बताउनुभयो ।
प्रबन्ध निर्देशक झाका अनुसार जनक शिक्षा सामग्री केन्द्रले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै शतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरिएको छ । केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रले गएको वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो ।
यस वर्ष पुस्तकको माग कम भएकाले गएको वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । गएको वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टकमा रहेको केन्द्रले जनाएको छ ।
यस वर्ष पुरानै पाठ्यक्रमका पुस्तक रहेकाले कतिपय विद्यार्थीले गएको वर्षकै पुस्तक पनि प्रयोग गर्दा कम बिक्री भएको हुनसक्ने निर्देशक झाले बताउनुभयो । कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तत्काल पुर्‍याउने पनि केन्द्रले जनाएको छ । अहिलेसम्म पुस्तक पाउन नसकेको गुनासो नआएको निर्देशक झाको भनाई छ ।
सरकारले गएको वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यसवर्ष कक्षा १ देखि ४ सम्मको मात्रै दिएको थियो ।

Facebook Comments Box